कृष्ण मोहन साह

सेढवा,बेमौसमी वर्षाले पर्साको ठोरी गाउँपालिकामा तोरी र सुर्ती खेती गर्ने किसानलाई प्रभावित बनाएको छ ।

नगदेबालीका रुपमा बर्सेनी तोरी र सुर्ती खेती गर्ने त्यहाँका किसानलाई बेमौसमी वर्षाको कारण माटोमा चिस्यान रहेकाले खेती लगाउन ढिलाइ भएको हो ।

गत असोजको दोस्रो सातादेखि सुर्ती रोप्न सुरु गरेका किसानको सुर्ती बालीमा पानीले क्षति पुर्याएको छ । वर्षा हुनु अघि सुर्ती रोपेका अधिकांश किसानको ३० देखि ४० प्रतिशत सुर्ती बालीमा क्षति पुगेको किसानहरू बताउँछन् ।

गत असोज दोस्रो सातामा सुर्ती रोपेका ठोरी गाउँपालिका वडा नम्बर– ४ शान्तिटोलका तोकबहादुर गोलेले २६ कट्ठामा लगाएको सुर्ती बालीमध्ये करीब १० कट्ठा भन्दा धेरै सुर्ती बाली मरेको बताउनुभयो ।

यस्तै सोही वडाका अर्का किसान ठूलो कान्छा पाख्रिनले करीब ८ कट्ठामा लगाएको सुर्तीको बिरुवा पानीका कारण आधा भन्दा धेरै कुहिएको बताउनुभयो ।

यता, दसैं मनाएर सुर्ती रोप्ने तयारीमा रहेका किसानलाई पनि पानीको प्रभाव परेको छ । सुर्ती लगाउन खनजोत गरेर ठिक्क पारेको खेतमा पानी जमेका कारण चिस्यान अत्याधिक भएको छ । बलौटे खेत भएका किसानले सुर्ती रोप्न थालेपनि चिम्ट्याइलो माटो भएका किसानलाई भने खेत जोत्न नै समस्या परेको छ । खेतमा अझै चिस्यान रहेकाले जोत्न समस्या परेको किसानहरुको भनाइ छ । एकातिर किसानहरुलाई अघिल्लो पटक जोतेर ठिक्क पारेको खेत फेरि जोत्नुपर्ने भएपछि खर्च बढेको छ भने अर्कोतिर सुर्ती रोप्न ढिलाइ हुँदा उत्पादन घट्ने चिन्ता पनि बढेको छ ।

ठोरीमा एक दशक भन्दा लामो समयदेखि नगदे बालीको रुपमा सुर्ती खेती हुँदै आएको छ । अन्य बालीको तुलनामा राम्रो मुनाफा पाइने भएकाले यहाँको अधिकांश किसानको रोजाईमा सुर्ती खेती परेको छ । यस वर्ष ठोरीको सबैभन्दा धेरै सुर्ती खेती हुने क्षेत्र वडा ३ र ४ मा मात्र ३५० हेक्टर क्षेत्रफलमा सुर्ती खेती गर्ने लक्ष्य राखिएको सुर्य नेपाल प्रालिका तर्फबाट फिल्डमा खटिएका कृषि प्राविधिक दिपक पण्डितले जानकारी दिनुभयो । यद्यपि छठ पर्व पछिमात्र कति क्षेत्रफलमा खेती भएको हो भन्ने बारे तथ्यांक यकिन गरिने उहाँको भनाइ छ । वर्षाले खेतमा अत्याधिक चिस्यान हुँदा किसानलाई सुर्ती रोप्न ढिलाइ भइरहेको भएपनि कात्तिक दोस्रो हप्तासम्म रोप्न सकिने प्राविधिक पण्डितले बताउनुभयो ।

त्यस क्षेत्रको अर्को प्रमुख नगदेबाली तोरी खेतीमा पनि बेमौसमी वर्षाको प्रभाव परेको छ । तोरी छर्नुपर्ने खेतमा अत्याधिक चिस्यान रहेकाले तोरीको बिउ कुहिने डरले किसानले तोरी छर्न सकेका छैनन् । सामान्यतया दसैं बित्नेबित्तिकै तोरी छर्ने किसानलाई पानीले समस्यामा पारेको ठोरी– ४ का किसान काशीनाथ नेपालले बताउनुभयो । उहाँका अनुसार तोरी छर्न अझै एक साता कुर्नुपर्ने अवस्था छ । ठोरीमा विशेष गरी वडा नम्बर ३, ४ र ५ मा सबैभन्दा धेरै तोरी खेती हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here