चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई इलामबाट हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। २५औँ आमरण अनशनमा रहेका केसीलाई सोमबार त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो।
अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार केसीको शरीरमा सुगरको मात्रा घटेको, श्वासप्रश्वासमा समस्या देखिएको तथा पेट दुख्ने र पिसाबमा संक्रमणसमेत रहेको छ। उनको उपचार शिक्षण अस्पतालको ५०१ नम्बर क्याबिनमा भइरहेको छ।
नेपाल चिकित्सक संघले केसीको जीवनरक्षाका लागि तत्काल पहल गर्न र माग सम्बोधन गर्न सरकारसँग अविलम्ब वार्ता गर्न आग्रह गरेको छ। संघले आवश्यक उपचार र स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउन पनि माग गरेको छ।
केसीका माग सम्बोधनका लागि सरकारले औपचारिक वार्ता सुरु नगरेको जनाइएको छ। यद्यपि, शिक्षामन्त्री सस्मित पोखरेलको सचिवालयले अनौपचारिक संवाद भइरहेको र छिट्टै वार्ता टोली गठन गरेर छलफल गर्ने जनाएको छ।
केसीले गेटामा पूर्वाधारविना एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिइएको अनुमति खारेज, चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा देखिएको स्वार्थको द्वन्द्वबारे निष्पक्ष छानबिन, गेटा अस्पताल पूर्ण क्षमतामा सञ्चालन तथा विगतका सहमति कार्यान्वयनलगायत छबुँदे माग राखेका छन्।
















