निजगढ,शुक्रबार रातिको हावाहुरीले निजगढ नगरपालिकाका किसानले लगाएको केरा खेतीमा क्षति गरेको छ ।
पानीसंगै आएको हुरीले केराको बोट ढालेर यस क्षेत्रका किसानले लगाएको लाखौं मूलय बराबरको केरा खेती नष्ट गरेको हो । हुरीले केराको जरैदेखि बोट ढालेर क्षति गरेको निजगढ ९ का मानबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार खेतमा पाक्ने बेला भएको र भर्खर पसाएको अधिकांश केराको बोट ढलेको छ ।
त्यसैगरी हुरीले रुख ढालेर अवरद्ध बनेको निजगढ(सिगौंल सडक शनिवार बिहानबाट सुचारु भएको छ । वन समुहका पदाधिकारी र कर्मचारीले सडकमा ढलेका रुख हटाएर सडक सुचारु पारेका हुन । त्यसैगरी हुरीले बिजुलीको तार छिनेपछि सिगौंल क्षेत्रमा शुक्रवार रातिदेखि शनिवार बिहानसम्म विद्युत अवरुद्ध बनेको थियो ।
उता, हावाहुरीका कारण पर्खाल भत्किदा बारामा एक जना महिला गम्भीर घाइते भएकी छन् । जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर १० देवापुर टेंटामा हावाहुरीका कारण ईंटाले बनाइएको पर्खाल भत्किदा ती महिला सिकिस्त भएकी हुन् ।
घाईते हुनेमा स्थानीय मनेजर पासवानकी ४५ वर्षिय पत्नी किस्मती देबी पासवान रहेकी छन् । भत्किएको पर्खालमा थिचिएर उनको हाँत भाँच्चिनुका साथै शरिरको अन्य भागमा पनि चोटपटक लागेको प्रहरीले बताएको छ । घाइते पासवानको अहिले सिम्रौनगढ नगर अस्पातलमा औषधी उपचार भईरहेको जिल्ला कार्यालय, बाराका प्रहरी प्रवक्ता एवंम् प्रहरी नायाव उपरीक्षक राजेश थापाले जानकारी दिनुभएको छ ।
वीरगन्ज सहित पर्सामा करोडौंको भौतिक क्षति गरेको छ । शुक्रबार राति हावाहुरीसंगै पानी परेका बेला आगलागी हुँदा र हुरीले घरहरुको छना उडाउँदा साढे दुई करोड भन्दा बढीको क्षति भएको छ ।
पर्साको धोबिनी गाँउपालिका वडा नम्बर २ गुलरीयामा शुक्रबार राति हावाहुरी चलेका बेला कुखुरा फर्ममा आगलागी भएको छ । गुलरियामा प्रभु रामको रिकुं पोल्ट्री फर्ममा शुक्रबार राति पौने ९ बजे आगलागी हुदा ५१ लाख रुपैया बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आलगागीबाट कुखुरा र्फम जल्दा ८ हजार वटा कुखुरा, सोलार ३ थान, ब्याट्री २ थान, कुखुराको दाना १ सय १३ बोरा, धान २० बोरा, आलु ५ बोरा, प्याज(१० बोरा र नगद नगद ३ लाख, रुपैया जलेर नष्ट भएको हो । प्रहरी चौकी आसबारीबाट गएको प्रहरीले स्थानीयको सहयोगमा राति सवा १० बजे आगो निभाएको पर्साका प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो । नजिकैको गहुँ खेतमा ठुटा जलाउन लगाएको आगो, हावाहुरीका कारण कुखुरा फर्ममा सल्किन गई आगलागी भएको प्रहरीको भनाइ छ । शुक्रबार रातिको हावाहुरीले वीरगन्जमा पनि भौतिक क्षति गरेको छ । रातिको हावाहुरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १४ स्थित मुस्लिम टोलमा ५ वटा घरको छानाको जस्तापाता उडाएको छ । प्रहरीका अनुसार, स्थानीय जेनउलाह मिया, अम्जद अली, रहमतुल्लाह मिया, फौजिल मिया र ईजाहर हुसेन अन्सारीको घरको छानाको जस्तापात हावाहुरीले उडाएको हो । त्यसबाट करिब साढे ३ लाख रुपैया बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै वीरगन्ज वीरगन्ज हेल्थकेयर हस्पिटलमा पनि हावाहुरी चलेकै बेला विद्युत सर्टर भएर आगलागी हुँदा पौने २ करोडको करोडौको क्षति भएको छ ।