नरेश गुप्ता
बरियारपुर,नेपाली कांग्रेस बारा जिल्ला सभापती राजेश राय यादवले १४ औं महाधिवेशनमा जिल्ला सभापती पदको निर्वाचनमा आफूसंग गरेको लिखित सहमति पूरा नगरेको जिल्ला सभापती पदका अर्का उम्मेदवार रामानन्द यादवले आरोप लगाउनुभएको छ ।
नेपाली कांग्रेस बाराको १४ औं जिल्ला अधिबेशनमा महिलो चरणको चुनावबाट बाहिरिनुभएका जिल्ला सभापती पदका उम्मेदवार रामानन्दले दोस्रो चरणको निर्वाचनमा सभापती यादवले आफूसंग गरेको १० बुँदे लिखित सहमति पालन नगरेको आरोप लगाउनुभएको हो ।
१० बुँदे सहमतिपछि जिल्ला सभापतीमा राजेश यादवलाई समर्थन गर्नुभएका रामानन्दले सहमति विपरीत काम भएको बताउनुभएको छ । उहाँका अनुसार सहमति पत्रको २ नम्बर बुँदामा सभापती राजेशले स्थानीय तहको निर्वाचनमा कलैया उपमहानगरपालिकाको मेयरको लागि रामानन्दको नाम सिफारिस गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
फागुन २३ गते सम्पन्न काग्रेस बारा जिल्ला अधिवेशनको क्रममा पार्टी सभापती राजेश पक्ष र रामानन्द समूहबीच भएको सहमति विपरीत मेयरको नामअघि सार्दा विवाद सिर्जना भएको हो । कांग्रेसका केन्द्रीय नेता रमेश रिजालको रोहबरमा भएको दुई पक्षबीच भएको १० बुँदे लिखित सम्झौताको पहिलो नम्बरमै ‘आउंदो स्थानीय तहको निर्वाचनमा बारा जिल्ला कलैया उपमहानगरपालिकाको मेयर पदको टिकटको लागि राजेशराय यादवको हकमा सिफारिस नगरी रामानन्द प्रसाद यादवको नाम एकल सिफारिस गर्नुपर्ने’ उल्लेख छ ।
पूर्वसांसद तथा कांग्रेश बाराका पूवसभापती एंव सभापती राजेशका पिता राधेचन्द्र यादवलेसमेत हस्ताक्षर गरेको उक्त सम्झौता विपरित आफ्नै नाम अगाडि सारेपछि आफूहरुलाई धोका भएको भनदै रामानन्द पक्ष आक्रोशित भएको छ । उहाँले
सभापती यादव सम्झौता कार्वान्वयन गर्नुको साटो पार्टीको बैठकबाट भागिरहेको आरोप लगाउनुभयो । ‘अधिवेशनको बेला गरिएको सम्झौता अनुसार कलैयाको मेयरमा मलाई एकल सिफारिस गरेर उम्मेदवार बनाईनुपर्छ’ रामानन्दले भन्नुभयो, ‘सम्झौता कार्वन्वयन नभए राजेशलाई मेयरको उम्मेदवार मान्न बाध्य हुने छैनौं ।’ उहाँले मनोनयन पत्र दर्ता गर्ने अन्तिम दिनसम्म पनि आफूले धैर्य गर्ने र त्यसपछि कस्तो रणनीति बनाएर अघि बढने भन्ने बारेमा साथीहरुसंग सल्लाह गरेर निर्णय लिइने उहाँले बताउनुभयो ।
पाँच दलीय गठबन्धनबीच कलैयाको मेयर कांग्रेशलाई दिने ‘मोटामोटी’ सहमति भएपछि सभापती पार्टी सभापतीको निर्वाचनको बेला गरेको संझौता उल्लघंन गर्दै आफै उम्मेदवार बन्ने तयारीमा लाग्नुभएको हो । ५ दलीय गठबन्धनको शीर्ष तहमा कलैयाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) लाई दिने बारेमा छलफल भइरहेको बताइएको छ ।