जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा वडा अध्यक्षका आकांक्षीहरु बीच झडप भएको छ । वर्तमान वडा अध्यक्ष अस्लम देवान र आगामी स्थानीय तहको निर्वाचनमा वडाबाट अध्यक्षका आकांक्षी मुस्तकिम अंसारीबीच झडप हुदा दुवै पक्षका ८ जना घाइते भएका छन् ।

भलुही टोलमा कोईला डिपोअगाडि बाँसले घेरेर बन्द गरिएको बाटो खुलाउन गएका मुस्तकिम अंसारीसहितको टोलीलाई वडा अध्यक्ष असलम देवान लगायतको टोलीले गाली गलोज गर्दा विवाद शुरु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

सामान्य भनाभनपछि असलम देवान पक्षका मानिसहरूले मुस्तकिम अंसारी पक्षको समुहमाथि हातपात गर्दा असलम देवान पक्षको समूहले कुटपिट गरेको हो ।

कुटपिटबाट मुस्तकिम अंसारीसहित चाँद महम्मद मंसुरी, मुमताज आलम, यासिन मिया, तमिजुदिन अंसारी, खुरशेद आलम लगायत घाइते भएका छन् । चाँद महम्मद मंसुरी र ममताज आलमको आईसियुमा उपचार भइरहेको छ । यासिन मियाँको खुट्टा भाँचिएको र खुरशेद आलमको हात भाँचिएको छ भने अन्यको अवस्था सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ ।

उता अस्लम देवानसहित उहाँका दाजु र भाइ गरी ३ जना सामान्य घाइते भएका छन् । उनीहरुको वीरगन्जस्थित नारायणी वयोधा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो ।

Leave a Reply