काठमाडौं । राजनीतिमा ध्रुवीकरण खोजिरहेका कतिपयलाई लाग्छ– केपी ओलीपछि प्रधानमन्त्री शेरबहादुर देउवा होइन, शेखर कोइराला बन्छन् ।

कांग्रेस केन्द्रीय समिति र संसदीय दल दुवैतर्फको आन्तरिक यथार्थ, अनि राष्ट्रिय राजनीतिक अवस्था हेर्दा ठ्याक्कै पत्याउने आधार त छैन । तर कांग्रेस नेता कोइरालाले आफ्नो दौडधुप भने अचानक तीव्र पारेका छन् ।

र, यो दौडधुपलाई पार्टीभित्र र बाहिर जिज्ञासाका साथ हेरिएको छ । कोइरालाले बिहीबार र शुक्रबार दुईवटा ‘महत्वपूर्ण’ भेटघाट गरे ।

नेकपा माओवादी (केन्द्र) का अध्यक्ष एवं प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई शनिबार भेटेका उनले शुक्रबार बिहान पूर्वराष्ट्रपति विद्या भण्डारीसँग छलफल गरे ।

पूर्वप्रधानमन्त्री प्रचण्ड निवास खुमलटार पुगेर करिब २ घण्टा संवाद गरेका कोइरालाले पूवराष्ट्रपति निवास भंगाल पुगेर झण्डै एक घण्टा कुराकानी गरे ।

सभापति शेरबहादुर देउवासँग चिढिएका कोइरालाले प्रचण्ड र भण्डारीलाई भेट्नुले राजनीति नयाँ खालको विश्लेषण पनि सुरु भएको छ ।

वर्तमान गठबन्धनको कार्यप्रदर्शनसँग बेखुस कोइरालाले यो सरकारको औचित्य नभएको बताइरहेका प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डसँग भेट गरे ।

अर्कोतर्फ, नेकपा एमालेमा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति भण्डारीसँग छलफल गर्नुलाई चासोका साथ हेरिएको छ । प्रचण्डसँगको भेटमा समसायिक विषयमा कुराकानी भएको जानकारी गराइएको छ ।

कांग्रेसभित्र पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा प्रवेशलाई लिएर कांग्रेसभित्र दुई थरि मत देखिएको छ ।

Leave a Reply