पुष्पराज खतिवडा
मनहर्वा,विद्यालयले ५३ वर्ष अघिदेखि हकभोग गर्दै आएको जमिन व्यक्तिले आफ्नो नाममा नामसारी गरी बिक्री गरेको पाइएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– १७ जैतापुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जैतापुरको हकभोगमा रहेको १ बिगाह २ कठ्ठा ५ धुर जमिन दुषित प्रकृयाबाट व्यक्तिको नाममा नामसारी गरेर बिक्रीसमेत पाइएको विद्यालयले जनाएको छ ।
२०२५ सालबाट विद्यालयले हकभोग गर्दै आएकोे साविक मनहर्वा गाविस वडा नम्बर ४ (ख) को कित्ता नम्बर ३५ को सो जमिन व्यक्तिको नाममा दर्ता गरी बिक्री गरिएको पाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टल्के थिङ्गले बताउनु भयो ।
विद्यालयको जमिन साविक बघवन गाविस वडा नम्बर १ हाल कलैया उपमहानगरपालिका वडा नम्बर १४ निवासी रामप्रसाद महत्तो नुनियाले पत्नी सियापती देवीको नाममा २०३४ चैत्र १२ गते नक्कली श्रेस्ता बनाएर गत वर्ष फेरि अर्कैलाई बेचेको पाइएको उहाँले बताउनु भयो । नुनियाले २०७७ पौष १३ गते काठमाण्डौका रामहरी घिमिरेलाई सो जमिन बिक्री गरिसकेको पनि पाइएको व्यवस्थापन समितिका अध्यक्ष थिङ्गले जानकारी दिनुभयो ।
२०२२ सालमा सर्वे हुँदा तत्कालिन प्रधानपञ्च जीउलाल चौधरीले उक्त जग्गा ऐलानी पर्ति भनी प्रमाणित गरेको फिल्ड बुकमा उल्लेख छ । २०३३ साल माघ २१ गते स्थानीय जनप्रतिनिधि समेतको रोहवरमा विद्यालयको नाममा नम्बरी कायम गर्न सार्वजनिक मुचुल्का गरि जिल्ला शिक्षा कार्यालय, मालपोत लगायतका कार्यालयमा विद्यालयले पत्राचार गरेको थियो ।
सोहीआधारमा २०३४ साल असोज ३ मा जिल्ला शिक्षा कार्यालय बाराले तत्कालिन मालपोत तथा भूमि व्यवस्था कार्यालय बारालाई पत्र लेखेर विद्यालयको नाममा श्रेस्ता कायम गरिदिन अनुरोध गरेको प्रमाण विद्यालयसँग सुरक्षित छ । तर श्रेस्ता भने कायम हुन सकेको थिएन । त्यतिबेला के कती कारणले श्रेस्ता बन्न नसकेको बारेमा जानकारी हुन सकेको छैन ।
२०५४ चैत्र २१ तत्कालिन गाउँ विकास समितिले उक्त जमिन विद्यालयको हकभोगमा रहेको भनी प्रमाणित गरि पत्राचार गरेको पत्र पनि फेला परेको छ । अनेक तथ्य प्रमाण हुँदाहुँदै पनि विद्यालयको जमिन नुनियाको नाममा कसरी गयो भन्ने बारेमा खोजी गरिरहेको अध्यक्ष थिङ्गले बताउनुभयो ।
केही दिनअघि केही मान्छेहरु जमिन आफ्नो भनी दावी गर्न आएपछि आफुहरु चकित परेको अध्यक्ष थिङ्गले बताउनु भयो । ‘केही मान्छेहरु आएर जमिनमा दाबी गरे, अध्यक्ष थिङ्गले भन्नुभयो, खोजबिन गर्दै जाँदा धेरै पहिले नै केही नुनियाले परिवारको नाममा दुषित दर्ता गरेका रहेछन ।’ विद्यालयको हकभोगमा रहेको जमिन फिर्ता गर्न पहल सुरु गरेको उहाँले बताउनु भयो । विद्यालयले सो जमिन अहिले पनि स्थानीय किसानलाई खेती गर्न भाँडामा दिएको छ ।
जैतापुरका सोझासिधा आदिवासी जनजाती थारु, तामाङ्ग र दलित अभिभावकहरुलाई गुमराहमा पारेर नुनियाले जग्गा पत्नीको नाममा फर्जी धनीपूर्जा बनाएको देखिएको थिङ्गले सुनाउनु भयो ।
विद्यालयले पटकपटक श्रेस्ता बनाउन पलह गर्दै आएको भएपनि अर्कैको नाममा पूर्जा बनेको चाल भने हालै मात्रै पाएको हो । ‘त्यतिबेला श्रेस्ता बनाउन प्रभावकारी ढंगले प्रयास भएन, विद्यालयका प्रधानाध्यापक दिपेन्द्र चौधरीले भन्नुभयो, हकभोगमा छँदैछ, कस्ले के गर्छ र भनेर सामान्य रुपमा सोचियो तर अहिले खोज्दै जाँदा अर्कैको नाममा भइसकेको रहेछ ।’ सोझा अभिभावक र प्रधानाध्यापकहरुको बारम्बार परिवर्तन भइरहने गरेकाले नुनियाले सोको फाईदा उठाएर दुषित ढंगले आफ्नो नाममा जमिन दर्ता गरेको बुझिएको प्रधानअध्यापक चौधरीले बताउनु भयो ।
२०३४ मा बनेको भनिएको सो पुर्जा माओवादी विद्रोहका क्रममा ०५४ सालमा मालपोत कार्यालयमा भएको आगजनीमा परेर श्रेस्ता नष्ट भएको मालपोतले उल्लेख गरेको छ । श्रेस्ता प्रमाण नष्ट भएपछि पुनः श्रेस्ता कायम गर्ने क्रममा मालपोतले विद्यालयको हकभोगमा रहेको जानकारी पाएर रोक्ने प्रयास गरेपछि जमिन दाबी गर्दै नुनिया अदालत गएका थिए ।
पुनरावेदन अदालत हेटौडाको परमादेश तथा उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगन्जको निर्देशनात्मक आदेशबाट मालपोत कार्यालयले ०७७ मंसिर २५ गते रामप्रसाद महत्तो नुनियाको नाममा नामसारी गरेको भेटिएको प्रधानाध्यापक चौधरीले बताउनु भयो । मालपोतले श्रेस्ता कायम गर्न नमानेपछि मालपोत कार्यालय विरुद्ध २०६६ साल फागुन १८ मा नुनियाले पुनरावेदन अदालत हेटौंडामा मुद्दा हालेका थिए । सोही मुद्दामा विपक्षी मालपोत कार्यालय बाराको नाउँमा २०६७ असार २३ मा परमादेश जारी भएको देखिएको छ । सियादेवीको ०६७ श्रावण २१ मा मृत्यु भएपछि हकदारको नाममा मरुवा नामसारीका क्रममा मालपोतले नमानेपछि उच्च अदालतमा मालपोत बारा विरुद्ध अवहेलनाको मुद्दा हालेका नुनियाको पक्षमा निर्देशनात्मक आदेशबाट पति राम प्रसादले आफ्नो नाममा जमिन ल्याएर काठमाण्डौका घिमिरेलाई बेचेका हुन ।
जमिन दर्ता गर्ने क्रममा २०६६ सालदेखि जारी अदालती प्रकृयाका बारे विद्यालय र जैतापुरका अभिभावकहरुले कुनै पत्तो पाएका थिएनन् ।
२०१७ सालमा विद्यालय स्थापना गरी केही वर्षपछि अविभावकहरुले विद्यालय संचालनका लागि जंगल फँडानी गरेर करिब ४ विगाह जमिन विद्यालयको नाममा राखेका थिए । बाँकी जमिन कसको भोगमा रहेको छ भन्ने बारेमा पनि विद्यालयलाई अहिलेसम्म कुनै जानकारी छैन । ‘बाँकी जमिनको पनि खोजी हुदै छ, प्रअ चौधरीले भन्नुभयो, पूर्वजले दुःख गरेर अर्जेको सम्पती कुनै हालतमा पनि त्यसै छोडिदैन ।’ विद्यालयको हकभोगमा रहेको जमिन दुषित ढंगले व्यक्तिको नाममा लगिएकाले फर्काउन कुनै कसर बाँकी नराखेर पहल गर्ने जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ र १८ का वडा अध्यक्षहरु नवराज खड्का र अर्जुनप्रसाद दाहाले बताउनु भयो ।