बाराको सिम्रौनगढमा हालै मालपोत कार्यालयको सेवा बिस्तार भएपछि बाराकै केही गाउँपालिका र पालिकाका स्थानीयहरुले विरोध गरेका छन् । थानीयलाई घरदैलोबाट नै सेवा प्रदान गर्ने उद्देश्यले सिम्रौनगढमा सरकारले मालपोत कार्यालयको स्थापना गरेर सेवा सुरु गरेको हो ।सबैलाई थाहा छ,मालपोत कार्यालय भनेको आम नागरिकहरुको सेवा लिनेदिनेसंग प्रत्यक्ष सरोकार राख्ने कार्यालय हो ।
बाराको सिम्रौनगढ ऐतिहासिक स्थल भएपनि जिल्लाको विकासको सवालमा भने सुदूर र दर्गम नै छ । त्यसैले पनि सिम्रौनगढमा सेवा बिस्तार हुदैमा आपत्ति जनाउनु्हुन्न ।
तर,यसो भन्दैमा फेरि अन्य पालिकाका स्थानीयहरुको पनि भावनाको संबोधन हुन आवश्यक छ । मालापोत कार्यालय होस् वा अन्य कुनैपनि सरोकार कार्यालय नागरिकहरुको पायक पर्ने स्थानमा राखिनु पर्दछ । एउटाले भएन भने दुई,चारवटा कार्यालय स्थापना गरेर भएपनि नागरिकहरुलाई सेवा प्रवाहको सवालमा स्पष्ट नीति बनाउनु पर्छ । स्थानीयले आफूहरुले पहिलेपहिले कलैयाबाट पाउदै आएको सेवा सिम्रौनगढमा सरेपछि थप अपायक परेको गुनासो गरेका छन । यदि सच्चिकै सिम्रौनगढ मालपोत कार्यालयमा परेपछि अपायक परेको हो भने त्यसको सुधार पनि हुनुपर्छ । मुख्य कुरा नागरिकले छिटो छरिता र सहजरुपमा सेवा पाउनुपर्छ भन्ने नै हो ।
यसैका आधारमा राजनीति वा पूर्वाग्रह भने राख्नु हुन्न । सिम्रौनगढमा सेवा गयो वा आफ्नोमा भएन भनेर विरोध गर्नुभन्दापनि सबैले सहज रुपमा सेवा पाउनु पर्छ । कलैयामा जिल्ला मालपोत कार्यालय पनि छ । कहाँका नागरिकहरुका लागि यो सहज हुन्छ यो पनि महत्वपूर्ण कुरा हो । त्यसैले पनि सेवा प्रवाह अझै बिस्तार होस् तर विरोध नहोस् ।