नरेश गुप्ता

बरियारपुर,बारागढी गाउँपालिकामा हालै हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत वकिल पालको समर्थनमा स्थानीयको एउटा समुहले आइतवार प्रदर्शन गरेका छन ।

संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा गरी बारागढी पठाइएका प्रमुख प्रशासकीय अधिकृत पालले कार्यालयमा हाजिरी गरेपछि पूर्वअधिकृत अमोद चौधरीको पक्षमा गत हप्ता स्थानीयको अर्को समुहले प्रदर्शन गरेपछि आइतबार अधिकृत पाल पक्षधरहरु पनि प्रदर्शनमा उत्रिएका हुन ।

गाउँपालिका अध्यक्ष देवदत्त बछारले सरुवा भइ गएका पूर्वप्रशासकीय अधिकृत चौधरीलाई आर्थिक वर्ष ०७८÷०७९ सम्म कार्यालयमा काम गर्न दिनु पर्ने भन्दै पाललाई काम गर्न अवरोध गरेपछि पालिकामा अधिकृतको पालको पक्ष र विपक्षमा प्रदर्शन सुरु भएको हो । मन्त्रालयबाट सरुवा भइ आएका अधिकृत पाललाई काम गर्न दिनुपर्ने माग राखेर गाउँपालिकामा आइतबार स्थानीयहरुले नाराबाजीसहित प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरुले गाउँपालिका अध्यक्ष बछार मुर्दाबाद, हाम्रो होइन राम्रो कर्मचारी चाहिन्छ । भ्रष्टाचार लुकउन पाइदैन भन्ने जस्ता नारा लगाएका थिए ।

स्थानीय उमेशप्रसाद साहको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीले गाउँपालिका भवन अगाडि भेला भएर कोण सभासमेत गरेका थिए । सभालाई सम्बोधन गर्दै वडा नम्बर १ का वडा अध्यक्ष सुरेशप्रसाद चौधरी गाँउपालिकामा नातावाद र जातिवाद हाबी भएको बताउनुभएको थियो । गाँउपालिकाको हरेक शाखा प्रमुख कर्मचारीहरु चौधरी नै भएकोले पालिकामा नातावाद र जातिवाद हाबी भएको उहाँको भनाइ छ ।

त्यस्तै गाउँपालिकाका नागरिक समाजका अगुवा अशोकप्रसाद जयसवालले थारु बाहुल्यता भएको पालिकामा अन्य जातिको प्रमुख प्रशासकीय अधिकृत आएपछि गाउँपालिका अध्यक्ष बछारले हाजिर गराउन नमानेको आरोप लगाउनु भएको छ । साथै गाउँपालिका अध्यक्ष बछारले संम्पूर्ण जनताको लागि नभइ नाताबाद र जातिबादको आधारमा गाउँपालिका चलाउदै आएको आरोप पनि उहाँले लगाउनुभयो । त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत पाललाई काम गर्न अवरोध सृजना गरेर अध्यक्ष बछारले कानुनको खिल्ली उडाएको अर्का समाजसेवी दायाशंकर यादवले बताउनुभयो ।

गाउँपालिकामा पर्ने मुर्तिपालियाका स्थानीय दलित समुदायको घर बस्तीमा सडक, नाला र खानेपानीको उचित व्यवस्थापन नभएको बताउदै वस्तिका महिलाहरु समेत प्रदर्शनमा सहभागी बनेका थिए ।

मन्त्रालयव्दारा पुष २३ गतेदेखि कामकाज गर्न भनेर बारागढी गाउँपालिकामा खटाइएका प्रमुख प्रशासकीय अधिकृत पाललाई गाँउपालिका अध्यक्ष बछार थारुले हाजिर गराउन नमानेपछि गाउँपालिका उपाध्यक्ष लक्ष्मी देबी रायले पाललाई हाजिर गराउनु भएको थियो । अध्यक्ष बछारले नयाँ अधिकृत पाललाई कार्यालयको काममा पनि अवरोध गर्दै आएको स्थानीयहरुले बताएका छन ।

गाँउपालिका अध्यक्ष बछारले निवर्तमान प्रमुख प्रशासकीय अधिकृत चौधरी नै अधिकृतको रुपमा बस्नु पर्ने अडान लिदै आउनुभएको भएपनि तत्कालिन प्रशासकीय अधिकृत चौधरीको भने गृह मन्त्रालयमा सरुवा भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here