निजगढ,निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनालले आफूले प्रयोग गर्दै आएको सवारीसाधन फिर्ता गर्नुभएको छ ।

मेयर खनालले प्रयोग गर्दै आएको बा २ झ १२५५ नम्बरको टाटा सुमो जीपको चाबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीलाई बुधवार हस्तान्तरण गर्नुभएको हो ।

वैशाख ३० गते हुने आसन्न स्थानीय तहको निर्वाचनको क्रममा लागू भएको आचारसंहितालाई ध्यानमा राखेर आफूले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई बुझाएको मेयर खनालले बताउनुभयो ।

मेयर खनालले सवारीसाधनसंगै व्यक्तिगत रुपमा प्राप्त हुने अन्य सेवा सुविधाहरु पनि नलिने घोषणा गर्नुभएको छ । मेयर खनाल आसन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निजगढको मेयर पदको आकांक्षी रहनुभएकोछ ।

गढीमाई नगरप्रमुखव्दारा सरकारी गाडी फिर्ता

राजकुमार यादव

मौलापुर,रौतहट जिल्लाको पूर्वी भेगमा अवस्थित गढीमाई नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादव र उपनगर प्रमुख सुभद्रा गुप्ताले सुविधा बापत लिएको सवारी साधन बुधबार नगरपालिकामा फिर्ता गरेका छन ।

निर्वाचन आचारसहिता लागु भएपछि नगर प्रमुख यादव र नगर उपप्रमुख गुप्ता लगायत ५ जना वडा अध्यक्षले आफूले प्रयोग गर्दै आएको सरकारी सवारी साधन फिर्ता गरेका हुन् । गढीमाई नगरपालिकाका नगर प्रमुख यादवले चढदै आएको ना. १ झ १६७५ नम्बरको स्कारपियो र नगर उपप्रमुख गुप्ताले चढ्दै आएका ना.१ झ १६१५ नम्बरको स्कारपियो गाडी फिर्ता गरेका हुन । नगरप्रमुख यादव र नगरउपप्रमुख गुप्ताले गाडीको चाबी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवलाई हस्तान्तरण गरेका थिए ।

नगर प्रमुख यादवले आउदो बैशाख महिनादेखि नगरपालिकाको कुनै पनि सेवा सुविधा नलिने बताउनुभएको छ । स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुने र निर्वाचन आयोगले आचारसहिता जारी गरेको अवस्थामा आफूले सेवासुविधा लिन उपयुक्त नहुने भएकाले नगरपालिकाबाट लिदै आएको सबै सेवा सुविधा फिर्ता गर्ने उहाँले बताउनुभयो ।

सो अवसरमा आफू नगरप्रमुखमा निर्वाचित भएपछि गढीमाई नगरपालिकाका विभिन्न स्थानमा गरी ५६ किलोमिटर सडक कालोपत्रे र ३५ किलोमिटर ढलान सडक निर्माण गरेको नगरप्रमुख यादवले जानकारी दिनुभयो ।

पर्यटनको क्षेत्रमा विभिन्न स्थान सौन्दर्यकरण गरेको उहाँको भनाइ थियो । रौतहट जिल्लाको धेरै नगरपालिका र गाउँपालिकाको कार्यालय भाडामा रहेको तर आफ्नो कार्यकालमा नगरपालिकाको भवन निर्माण गरेको मेयर यादवले बताउनुभयो । कार्यपालिकामा अल्पमतमा भएपनि नगरसभा तोकिएकै समयमा गरेर आफुले विकासका योजना छनौट गर्न सकेको उहाँको भनाइ रहेको छ ।

उता, गौर नगरपालिकाका जनप्रतिनिधिहरुले भने शुक्रबार नै सवारी साधन फिर्ता गरिसकेका छन् । गौर नगरपालिकाका नगरप्रमुख अजय गुप्ता र बौधीमाई नगरपालिकाका नगर प्रमुख रविरंजन यादव सहित वडा अध्यक्षहरुले सवारी साधन फिर्ता गरेका हुन् । अन्य पालिकाहरुले भने अझैसम्म सवारी साधन बुझाएका छैनन् । रौतहटमा २ गाउँपालिका र १६ नगरपालिका सहित १८ वटा स्थानीय तह रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here