कलैया,सीमा क्षेत्रमा म्यानमारको रोहिँग्या समुदायका मानिसहरूको आवागमन बढेकोभन्दै भारतसँग सीमा जोडिएका बारा र पर्साका नाकाहरूमा विशेष सतर्कता अपनाइएको छ ।दुवै जिल्लाका प्रशासन कार्यालयहरूले भारतसँग सीमा जोडिएका नाकाहरूमा विशेष सुरक्षा सतर्कता अपनाएको जनाएका हुन् ।

प्रशासन कार्यालयहरूले सीमा क्षेत्रमा विशेष सर्तकता अपनाउनका लागि जिल्लाका सुरक्षा निकायहरूलाई पत्राचार गरेका छन् ।भारतीय भूमी हुँदै तेश्रो मुलुकका नागरिकहरू नेपाल प्रवेश गर्ने सम्भावना बढेकोभन्दै जिल्ला प्रशासन कार्यालय बाराले जिल्लाका सबै सुरक्षा निकायहरूलाई सीमा क्षेत्रमा विशेष सतर्कता अपनाउन परिपत्र गरेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

बाराको ६० किलोमिटर भूभाग भारतसँग जोडिएको र त्यहाँ ९० वटा प्रवेश विन्दूरुको पहिचान गरिएको बारा प्रशासनले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका पोस्टहरूलाई विशेष निगरानी गर्न निर्देशन दिइएको छ । जिल्लाको सिम्रौनगढलगायत क्षेत्रमा शंकास्पद व्यक्तिहरु देखिएको स्थानीयले बताएका छन ।

यसैगरी भारतमा अवैध रूपमा बसोबास गर्दै आएका बंगलादेशी रोहिंग्या समुदायका मानिसहरू नेपालमा गैरकानुनी रूपमा प्रवेश गरिरहेको खबरहरू आउन थालेपछि जिल्ला प्रशासन कार्यालय पर्साले ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले बुधवार एक सूचना जारी गर्दै वीरगञ्जसहित जिल्लाका सबै सीमा र नाकाहरूमा सुरक्षाकर्मीको चेकजाँच र निगरानी बढाइएको जनाएको छ ।सीमावर्ती नाकाबाट परिचय नखुलेका शंकास्पद व्यक्तिहरू अवैध ढंगबाट पर्सा जिल्लामा प्रवेश गर्नसक्ने हुँदा सुरक्षा निकायबाट चेकजाँचमा कडाई गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले जारी गरेको सूचनामा उल्लेख छ ।शंकास्पद व्यक्ति जिल्लाभित्र प्रवेश गरेको अवस्थामा त्यस्ता व्यक्तिको सम्बन्धमा नजिकको सुरक्षा निकायमा जानकारी गराउन पनि अपील गरिएको छ ।

Leave a Reply