निजगढ,प्रतिनिधि सभा सदस्यमा बारा जिल्लाबाट नेकपा एमाले २, एकिकृत समाजवादी र जनता समाजवादी पार्टीले १÷१ क्षेत्रमा विजय हासिल गरेका छन ।
नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा एमालेका अच्युत मैनालीले क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो । एमालेका मैनाली फराकिलो मतान्तरमा निर्वाचित हुनुभएको छ । उहाँले खानेपानी मन्त्रीसमेत रहेका कांग्रेस नेता उमाकान्त चौधरीलाई ९ हजार १३९ मतान्तरले पराजित गर्नुभएको छ । मैनालीले ३९ हजार १९५ मत पाउँदा उमाकान्तले ३० हजार ५६ मत मात्र पाउनुभयो । २०७४ मा एमाले र नेकपा माओवादी केन्द्र मिलेर चुनाव लड्दा मैनालीलाई उमाकान्तले पराजित गर्नुभएको थियो । तर यसपटकको निर्वाचनमा जसपाको साथ पाएपछि उमाकान्तको संसदीय यात्रा रोक्न मैनाली सफल हुनुभएको छ ।
बारा २ मा प्रतिनिधि सभा सदस्यमा जसपा नेपालका रामसहाय यादब निर्वाचित हुनुभएको छ । यादबले माओवादीका शिवचन्द्र कुशवाहालाई २६० मतको अन्तरमा पराजित गर्नुभएको हो । यादबले १३४६४ पत प्राप्त गर्दा कुशवाहाले १३३६९ मत प्राप्त गर्नुभएको थियो ।
स्वतन्त्र उम्मेद्वार रामकिशोर यादबले १०८९९ र रोशन यादबले १०५६८ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नम्बर ४ मा भने यसअघि नै नेकपा एकिकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ विजयी भइसक्नुभएको छ । श्रेष्ठले नेकपा एमालेका इकवाल मियालाई पराजित गर्नुभएको हो ।