जनप्रतिनिधि भनेका जनताको मतबाट चुनिने व्यक्ति हुन् । उनीहरु त हरदम जनताकै बीचमा रहनु पर्दछ । जनताको बीचबाट अलग रहने कुरै भएन । तर, यीनै जनप्रतिनिधिहरु असुरक्षित रहन्छन् भने कल्पना गरौं त्यो समाज कस्तो होला ? सभ्य समाजका लागि त यो सुहाउने कुरै भएन । आफ्नो स्वार्थ पूरा नभएपछि केही स्वार्थी समूहले जनताका प्रतिनिधिमाथि भने आक्रमण गर्ने गर्दछन् र जनतामा लोकप्रिय बन्दै गएमा पनि उनीहरुमाथि आक्रमण भने हुने डर रहन्छ ।बाराको पचरौता नगरपालिकाकी उपप्रमुखमाथि पनि यही भएको हुन सक्छ । रातको समयमा यसरी जनप्रतिनिधिमाथि आक्रमण गरिनुको पछाडि पक्कै पनि स्वार्थ समूहको ठूलै योजना रहेको कुरालाई पनि नजरअन्दाज गर्न सकिन्न । राजनीतिक प्रतिशोधका आधारमा आक्रमण भएको भए त झन् त्यो क्षम्य हुने कुरै भएन यद्यपि आक्रमणमा जनप्रतिनिधि सहितको परिवार परिसकेको छ ।यसरी आक्रमण गर्ने जो कोही भएपनि प्रहरीले कारबाही गर्नुपर्दछ । हुन त नेपालमा राजनीकि संरक्षण भएपछि हत्यामा संलग्नहरुले समेत उन्मुक्ति पाउने गरेको नजिर छ तै पनि यस्तो प्रवृत्तिको पक्षपोषण भने गर्न विलकुल सकिदैन । यो एक प्रकारको अपराध नै हो र यस्ता कार्यमा संलग्न जो भएपनि उनीहरुलाई काुननको दायरामा ल्याउनु प्रहरी प्रशासनको कर्तव्य हो ।