निजगढ,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आज देशमा उत्पन्न भएको संकटको बारेमा जनताले समीक्षा गर्ने समय आएको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढले बुधवार निजगढमा आयोजना गरेको विशेष सभामा बोल्दै अध्यक्ष लिङ्देनले देशमा भ्रष्टचार र बेतिथि बढदै गएको भन्दै लामो समयदेखि शासन सत्ताको बागडोर सम्हालेका मुख्य दलका नेताहरु देशमा लागू गरिएको व्यवस्थानै यसमा मुख्य जिम्मेवार रहेको बताउनुभयो । ‘कांग्रेश, एमाले र माओवादीका नेताहरुमात्रै होइनन्, आजको अवस्था उत्पन्न हुनुमा हाल देशमा कायम गरिएको व्यवस्था सबैभन्दा बढी जिम्मेवार छन ।’ उहाँले देशमा संघीयता र धर्मनिरपेक्षता कायम गरिएपछि देश थप संकटमा पुगेको भन्दै उहाँले वर्तमान अवस्थाबाट पार पाउन हालको व्यवस्था नै परिवर्तन हुनु पर्नेमा जोड दिनुभयो ।

दलका नेताहरुले भ्रष्टचार गरेर घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको बताउनुभयो । अध्यक्ष लिङ्गदेलले देशमा आर्थिक संकट गहिरिदै गएको र बैंकमा समेत नोट नहुनुको कारण नेताहरु र काला व्यापारीहरुले घरमा थन्क्याउनु भएको बताउनुभएको हो । नेताहरुले कमिशन र भ्रष्ट्राचारबाट कमाएको पैसा बैंकमा राख्दा आम्दानीको स्रोत खुलाउनुपर्ने भएकाले घरमै थन्क्याएका उहाँले जिकिर गर्नुभयो ।

अध्यक्ष लिङ्देनले आफ्नै जीवनकालमा देश बनेको हेर्नका लागि मतदाताहरुले अब पार्टी र नेता फेर्ने बेला आएको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा राप्रपालाई विजयी बनाउन समेत मतदाताहरुसंग अनुरोध गर्नुभयो । उहाँले कांग्रेस, एमाले, माओवादी र मधेशवादी दललाई मत दिएर देश बन्नु भनेको दुधका लागि साँढेको टाङमुनि बाल्टि थाप्नुजस्तै भएको टिप्पणी समेत गर्नुभयो । उहाँले उहाँले देशका ठूला राजनीतिक पार्टीहरुले देशलाई बर्बादीको बिन्दुमा पु¥याएको आरोप लगाउदै अब पनि जनता मौन भएर बस्ने हो भने देश विघठनमा पुग्ने बताउनुभयो ।

राप्रपा निजगढका अध्यक्ष खडकप्रसाद उप्रेतीको अध्यक्षतामा भएको सो सभामा पार्टीका महासचिव ध्रुबबहादुर प्रधान, युवा नेता विनोद भारती, जिल्ला कमिटी सदस्य स्रेसा सापकोटालगायतले बोल्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेश, एमाले र माओवादी पार्टी परित्याग गरी ३ दर्जनभन्दा बढी कार्यकर्ताहरु राप्रपामा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नेहरुलाई अध्यक्ष लिङ्गदेलले अविर र खादा ओडाएर स्वागत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here