कलैया,बाराको कलैया उपमहानगरपालिका बस्दै आएकी २८ वर्षीया सीता भनिने कविता पटेल एसिड आक्रमणबाट घाइते छिन् ।
गत ११ चैतमा उहाँका ससुरा हवारी साह र र जेठाजु रामबाबु साहसहित नचिनेका अरु २ जना मानिसले कलैया उपमहानगरपालिका– २३ कोरिया टोल नजिकै एसिडले आक्रमण गरेको उहाँको आरोप छ ।
पर्साको बहुदरमाई नगरपालिका– २ बैरियाविर्ता घर भएकी कविता घटनाको दिन वीरगन्जमा वकिललाई भेटेर स्कुटरमा कलैयास्थित डेरामा फर्किदै हुनुहुन्थ्यो । पिछा गर्दै आएका उनीहरुले कलैयाको कोरिया टोल नजिक आइपुगेपछि घेरा हालेर कवितामाथि एसिडले आक्रमण गरेको र गरगहना तथा नगद लुटेर लगेको उहाँको आरोप छ ।
प्रहरीले कविताका जेठाजु र ससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । ‘उनीहरु विरुद्ध एसिड आक्रमणको मुद्धा दर्ता गरेर अनुसन्धान गरिरहेका छौं’ उहाँले भन्नुभयो । उनीहरुले प्रहरीसमक्ष आफूहरुले एसिड आक्रमणमा संलग्नता नरहेको बयान दिएका छन् ।
०७८ साउन २४ गते कविताले पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर– ६ बस्ने २४ वर्षीय उमेश साह गोढसँग अदालती विवाह गर्नुभएको थियो । विवाह भएको एक सातापछि देखि नै परिवारसँगको सम्बन्धमा खटपट आएपछि उहाँको पारिवारिक जीवन सुखद हुन सकेको थिएन । यसैबीच गत भदौ २० गते श्रीमान उमेशले विवाह बदरको मुद्धा दिएका थिए । त्यसपछि कविताले पनि अंश, घरेलु हिंसा र ज्यान मार्ने उद्योग विरुद्धको मुद्धा दर्ता गर्नुभएको थियो ।
‘विवाह गरेपछि सुरुका दिन राम्रैसँग बित्यो, पछि बुवाआमाको कुरा सुनेर विवाह बदरको मुद्धा दिएको रहेछ’ उहाँले भन्नुभयो, ‘त्यसपछि मैले पनि केस गरिदिएँ, कसरी हुन्छ मलाई बाटोबाट हटाउन उनीहरु लागेका छन् । ज्यान मार्ने धम्कीसमेत दिएका छन् ।’
एकातिर मुद्धा मामिला, अर्कोतिर एसिडले पोलेको घाँउ । सीता जीवनकै अहिले कठिन परिस्थितिबाट अघि बढिरहेको छ ।
कविताको हाल वीरगन्जस्थित नारायणी अस्पतालको सर्जिकल वार्डमा उपचार चलिरहेको छ । तर आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेको छ ।
एसिड आक्रमणबाट शरीरको पछाडिको भागमा १८ प्रतिशत जलन देखिएको छ । छातीतर्फको भागमा पनि थोरै जलेको छ । नारायणी अस्पतालमा उपचार राम्रोसँग हुन नसकेको गुनासो उहाँको छ । आफ्नो उपचार राम्रोसँग होस र आफूलाई एसिड आक्रमण गर्नेहरु विरुद्ध कानुनी कारबही होस् भन्ने माग उहाँको छ ।
उहाँको उपचारमा अस्पतालमा रहेको ‘एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)ले’ सहयोग गरिरहेको नर्स अहेमा थापाले जानकारी दिनुभयो ।