कलैया,बाराको महागढीमाई नगरपालिकाका स्थानीयले शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुतला दहन गरेका छन् ।प्रमुख प्रशासकीय अधिकृत नभएका कारण चार महिनादेखि नगरपालिकाको कामकाज ठप्प हुँदा समेत सरकारले चासो नदेखाएको भन्दै स्थानीयले प्रधानमन्त्री ’प्रचण्ड’को पुतला दहन गरेका हुन् ।सयौंको संख्यामा रहेका स्थानीयले प्रचण्डको पुतला बनाएर दहन गरेका थिए । स्थानीयले प्रधानमन्त्री प्रचण्डको पुतलामा आगो लगाउँदै नाराबाजी गर्न थालेपछि घटनास्थलमा पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो निभाएका थिए । प्रधानमन्त्री प्रचण्डको पुतला दहनसँगै स्थानीयले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको राजीनामासमेत माग गरेका छन् । प्रमुख प्रशासकीय अधिृकत पठाउन नसक्ने मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने भन्दै स्थानीयले नाराबाजी गर्दै राजिनामा मागेका हुन ।यसअघि गत बुधवार महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले गठबन्धन दलका नेता र मन्त्रीलाई महागढीमाई नगर क्षेत्र प्रवेशमा रोक लगाएको भन्दै सामाजिक संजाल फेसबुकमा स्टाटस लख्नुभएको थियो । प्रधानमन्त्रीसहित गठबन्धन दलका शीर्ष नेतालाई पटकपटक भेटेर प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गर्दा समेत सुनुवाई नभएपछि प्रवेश निषेध गरेको मेयर यादवले बताउनुभएको थियो ।प्रमुख प्रशासकीय अधिकृत नहुँदा महागढीमाई नगरपालिकामा चालू आर्थिक वर्षमा संचालन गर्नुपर्ने योजना र सम्पन्न भएको कामको भुक्तानी रोकिएको छ भने कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीसहित ६ सय ५८ जना कर्मचारीले चार महिनादेखि तलब पाएका छैनन् । प्रमुख प्रशासकीय अधिकृत नभएका कारण चालु आर्थिक वर्षमा पाँच प्रतिशत मात्रै योजनाको सम्झौता भएको छ ।मेयर यादवले प्रमुख प्रशासकीय अधिकृतको अभावमा झण्डै एक अर्बको बजेट फ्रिज हुन लागेको बताउँदै आउनुभएको छ । मेयर यादव प्रमुख प्रशासकीय अधिकृत माग गर्न अहिले पनि काठमाडौंमै हुनुहुन्छ ।



















