अजय साह,
कलैया, १४ भदौँ– बारामा कोरोना संक्रमितहरुको उपचारकोलागि अस्पताल बनाउने भनेर गरिएको निर्णय कागजमै सिमित भएको छ ।
जिल्ला प्रशासन कार्यलयमा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको नेतृत्वमा जिल्लाका विधायक र स्थानीय तहका प्रमुखहरुको उपस्थितिमा गत जेष्ठ ४ गते बसेको बैठकले कलैयास्थित सिचाई केन्द्रको भवन मर्मत गरी अस्थाई कोरोना अस्पताल बनाउने निर्णय भएको थियो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी पण्डित, प्रतिनिधि सभा सदस्य रामबाबु यादव, प्रदेश सभा सदस्य शारदाशंकर साह, पारस साह, महम्मद समिर, ज्वाला साह, बच्चा यादव, कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादव, कलैया अस्पतालका मेडिकल सुपरिडेन्ट बिरेन्द्र मण्डल र सुरक्षा प्रमुख राजनितिक दलका प्रतिनिधिलगायतका सहभागिता रहेको थियो ।
तीन महिनाअघि भएको निर्णय अझैै कार्यान्वयनमा नआएपछि जिल्लावासी अस्पताल बन्ने आश र त्रास बस्न बाध्य छन् । निर्णय गरेर पनि जिल्लामा कोभिड अस्पताल नबन्दा स्थानीयबासिन्दा अकाल मै ज्यान गुमाउनु पर्ने चिन्तामा परेका हुन । कोरोनाबाट हालसम्म बारा जिल्लाका १६ जनाको मृत्यु भइसकेको छ । उनीहरुको जिल्ला बाहिरको अस्पतालमा मृत्यु भएको हो । पछिल्लो पटक निजगढ नगरपालिकाकी एक महिलाको उपचारको क्रममा चितवनमा शनिबार मृत्यु भएको हो ।
तर अस्पताल बनाउन भनेर गरिएको निर्णय कार्यान्वयन गर्नुको साटो जिल्लामा अर्को आइसोलेशन कक्ष बनाउने तयारीको विरोध हुन थालेको छ । कलैया उपमाहनगरपालिका वडा नम्वर ३ गंगापुरस्थित शिक्षक तालिम केन्द्रमा यसअघि नै निर्माण गरिएको आइसोलेशन हुदाहुदै पुन अर्को बिल्डिङ्गमा आईसुलेशन बनाउने कार्यको प्रतिकार गरिने कलैया उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जलाउदिन मसुरले बताउनुभएको छ ।
‘कोभिड– १९ को नाममा सदरमुकामबाट तालिम केन्द्र पनि अन्यत्र सार्ने षडयन्त्र हुदैछ, वडा अध्यक्ष मंसुरले भन्नुभयो, यस्तो कार्यलाई कदापि सफल हुन दिइन्न ।’ उहाँले नगरप्रमुख राजेश राय यादव घर भएको वडा नम्बर ७ मा पर्ने रामराजा क्याम्पस र दुर्गा माध्यमिक विद्यालयको नवनिर्मित्त भवनमा कोरोना आइसोलेशन बनाउने षडयन्त्र भइरहेको आरोप लगाउनुभएको छ ।
उहाँले आफु कोभिड– १९ महामारी नियन्त्रण रोकथामको लागि निर्माण हुने आइसोलेशनको विरोधी नभएको भन्दै नगर प्रमुख यादवलाई जाति र पार्टी भन्दामाथि उठेर राजनितिक गर्र्न सुझाव पनि दिनुभएको छ । उहाँले जनताको माँझमा गएर जनताको चाहनाअनुसार काम गर्न र फोहरी राजनिति बन्द गर्न सुझाब दिनुभएको छ ।