कृष्ण मोहन साह

सेढवा,पर्साको जंगलमा बिगतं एक हप्तादेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । डढेलो लागेको एकहप्ता भइसक्दा पनि त्यसलाई निभाउन सम्बन्धित निकायले पहल नगरेको स्थानीयवासीले गुनासो गरेका छ्न ।

सेक्टर वन कार्यालय वसन्तपुर ईलाका वन कार्यालय हरैया, भतौडा र रङ्गपुर, सेक्टर वन कार्यालय बढ्नियार तथा पर्सा राष्ट्रिय निकुञ्जको महादेव पोष्ट, चारभैया पोष्ट गडुवालाइन, निर्मल बस्ती पोष्ट, पन्चमुखी सामुदायिक वन र सुनाखरी उपभोक्ता समिति अन्तर्गत रहेको वन क्षेत्रमा बिगत १ हप्तादेखि डढेलो लागेको हो ।

डढेलोका कारण करोडौं मुल्य बराबरका काठ तथा बोटिबरुवाहरु जलेर नष्ट भएको स्थानीय बासिन्दाले बताएका छन् । आगलागीबाट निस्केको धुवाँले जङ्गल नजिकैका मानव बस्तीहरुमा समेत असर पारेको छ । डढेलोको धुवाँले जंगलको नजिकै रहेका बस्तीका स्थानीयहरुमा आँखा चिलाउने, आँखा रातो हुने, बिहानको समयमा धुवाँले अध्यारो हुने जस्ता समस्या देखिएको छ ।

डिभिजन वन कार्यालय पर्साका प्रवक्ता सहायक बन अधिकृत रेयाज अहमद अन्सारीले भने डढेलो नियन्त्रणका लागि जनशिक्त परिचलन गरि सकिएको बताउनुभयो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र वन रक्षकको टोली परिचालन गरिएको र बाँकी स्थानको पनि आगो नियन्त्रणको लागि जिल्लाले निर्देशन दिइसकेको उहाँले बताउनुभयो । जंगलमा लागेको आगो नियन्त्रण गर्न वन कर्मचारी र प्रहरीले मात्रै गर्न नसक्ने भएकोले स्थानीयवासीको पनि सहयोग आवश्यक रहेको अन्सारीले बताउनु भयो ।

यसैबीच सुनाखरी उपभोक्ता समिति र पन्चनुखी सामुदायिक वनमा लागेको डढेलो निभाउन स्थानीयवासी नै खटेका छन् । उपभोक्ताहरु, विभिन्न समितिका सदस्यहरु र नेपाली सेनाको सहयोगमा आगो निभाउन प्रयास भइरहेको भन्दै सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर पाख्रिनले कतिपय ठाउँमा डढेलो नियन्त्रणमा पनि आइसकेको पनि जानकारी दिनुभयो ।

सुख्खा मौसम सुरु भएसंगै पर्साको वन क्षेत्रमा हरेक वर्ष डढेलो लाग्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here