निजगढ, १३ साउन– कोरोना भाइरस र जारी लकडाउनका कारण हिजो सोमबार बाराको काँटघाँटस्थित सहजनाथ महादेव मन्दिरमा बोलबम भक्तजनहरुको चहलपहलमा कमी देखिएको छ ।
लकडाउनका कारण भक्तजनहरु आउने क्रम कम भएपछि मन्दीरमा चहलपहल कमी देखिएको हो । काँटघाँट मन्दीरमा हरेक बर्ष साउन महिनाको प्रतेक सोमबार हजारौं भक्तजनको भिड लाग्ने गरेको थियो । तर हिजो मन्दिरमा कम भक्तजनहरुमात्र पुगेका थिए । कोरोना भाइरसको जोखिमका कारण भक्तजनहरुको उपस्थिति कम भएको मन्दिरमा जल चढाएर फर्किएका रौतहट दुर्गाभगवती गाउँपालिकाका धर्मेन्द्र दासले बताउनुभयो ।
सरकारले मठ मन्दिर जस्ता भिडभाड हुने स्थलमा रोक लगाएकाले मन्दिरमा भक्तजनहरुको चहलपहलमा कमी आएको हो । तर केही भक्तजनहरु भने कोरोना जोखिमको पर्वाहा नगरी जल चढाउन सधा झै सोमबार पनि मन्दिर पुगेका थिए । धार्मिक आस्था र विश्वासका कारण जोखिमकाबीच उनीहरु मन्दीर पुगेका थिए । मन्दिरमा जल चढाउन पुगेका मध्ये केहीले भगवान शिवका भक्तजनलाई कोरोना नलाग्ने दावी पनि गरेका छन ।
भक्तजनको आवागमनमा कमी भएपछि निजगगढस्थित पुर्वपश्चिम राजमार्गमा पनि यो बर्ष चहलपहल न्युन छ । मन्दीरमा जल चढाउन जाने र फर्किन भक्तजनहरुको भिडले अघिल्ला बर्षहरुमा निजगढको सडकमा पनि बोलबम यात्रुको ठुलो चहलपहल देखिने गरेको थियो ।
श्रद्धालुहरु पैदल र सवारी साधन प्रयोग गरेर निजगढ हुदै मन्दीर पुग्ने गरेका हुन । उनीहरुले प्रयोग गर्ने पहेलो वश्त्रका कारण राजमार्ग नै पहेलपुर देखिने गरेको स्थानीय दिनेश श्रेष्ठले बताउनुभयो । तर यो बर्ष भने साउनको दोस्रो सातासम्म पनि राजमार्गमा त्यस्तो कुनै चहलपहल नदेखिएको श्रेष्ठले बताउनुभयो ।
‘पहिलेपहिले राजमार्गमा बाजा बजाएर रमाइलो गर्दै भक्तजनहरु जल चढाउन जाने गथ्र्ये, निजगढ ९ निवासी श्रेष्ठले भन्नुभयो, बोलबम यात्रुहरु नदेखिदा यसपाला राजमार्ग पनि सुनसान छ ।’ राजमार्ग हुदै सोमबार केही थोरैमात्र बोलबम मोटरसाइकलबाट मन्दिरतर्फ लागेको देखिएको पनि उहाँले बताउनुभयो ।
बाराको कोल्हवी नगरपालिकास्थित चारकोसे झाडीको बिचमा पर्ने काटघाट मन्दीर पछिल्ला वर्षहरुमा तराईका बोलबम यात्रुहरुको मुख्य गन्तव्य बन्दै आएको छ ।
शक्ति प्राप्त र मनोकामना पुरा हुने विश्वसमा बारा, पर्सा, रौतहट, सर्लाहीलगायत तराईका जिल्लाका ठुलो संख्यामा भक्तजनहरुको मन्दिरमा जल चढाउन जाने गरेका छन । उनीहरुले मन्दिरबाट करिव ३७ किलो मिटर पुर्व रौतहट र सर्लाही जिल्लाको सिमानामा पर्ने बागमति नदीबाट ल्याएको जल मन्दीरमा पुर्याएर चढाउने गरेका हुन ।
घना जङगलभित्र रहेको सहजनाथ महादेवलाई स्थानीय बासिन्दाहरूले जङगली बाबा महादेवको नामले पनि पुकार्ने गर्दैआएका छन । सत्ययुगमा भगवान महादेव वन विहार गर्न चारकोसे झाडीको उक्त स्थानमा आई कैयौँ दिनसम्म सहजरूपमा वन विहार गरी विश्राम गरेकाले सो स्थललाई सहजनाथ महादेवको नामले पुजिंदै आएको किंवदन्ति छ ।
एक महिना पहिलेदेखि शुद्ध शाकाहारी भइ बागमति नदीबाट ल्याएको पवित्र जल श्रद्धालुहरुले मन्दीरमा पुगेर चढाउने गरेका हुन ।
राजमार्गबाट करिव ४ किमी दक्षिण जंगलको मध्ये भागमा अवस्थित मन्दिर परिसरमा श्रीगणेश, बसाहा, रामसीता, राधाकृष्ण, भैरवनाथ, हनुमानलगायत देवी देवताहरूको प्राचीन मूर्तिहरू र मन्दिर परिसरमा करिब एक बिघा क्षेत्रफल ओगटेको पोखरीसमेत रहेको छ । काँटघाँट मन्दिर बारा जिल्लाका विभिन्न पर्यटकीय स्थल मध्ये प्रमुख एकको रुपमा पनि रहेको छ ।