सुर्खेत – प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो समग्र जीवन देशका लागि दिने बताउनुभएको छ ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा समाजवादी मोर्चा नेपालद्वारा आज बिहीवार आयोजित ‘सन्देश सभा’ लाई सम्बोधन गर्दै उहाँले नयाँ सङ्कल्पसहित देश निर्माणको अनवरत यात्रामा रहेर देशको सुशासन, विकास र समृद्धिका लागि आफ्नो सिङ्गो जीवन अर्पण गर्ने बताउनुभएको हो । उहाँले देशमा व्याप्त भ्रष्टाचारविरुद्ध लडाइँ शुरु भएको र अब यो नरोकिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।‘सरकारले थालेको सुशासन र भ्रष्टाचारविरुद्धको अभियान अझ पेचिलो गरी अगाडि बढ्छ’, प्रधानमन्त्रीले भन्नुभयो, ‘यसमा नेपालका राजनीतिक दललगायत सबै सरोकारवालाले सहयोग गर्नुपर्छ ।’ उहाँले आन्दोलनको उपलब्धि, रक्षा र क्रान्तिको उर्बर भूमि कर्णाली भएको बताउँदै सुर्खेत–हिल्सा सडक सबैभन्दा अगाडि रहने वचन दिनुभयो । कर्णाली कोरिडरले यहाँका नागरिकको भविष्यलाई सुनिश्चित गर्नुका साथै यहाँको आर्थिक क्रान्तिको आधार हुने र सडक निर्माणका कार्य अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।प्रधानमन्त्री प्रचण्डले क्रान्तिकारीलाई चनाखो बन्न र अझ ठूलो मोर्चा बनाएर एकताबद्ध ढङ्गले अगाडि बढ्न आग्रह गर्नुभयो । कम्युनिस्ट आन्दोलनले नेपालको परिवर्तनमा ऐतिहासिक भूमिका खेलेको बताउँदै उहाँले विगतको आन्दोलनमा अग्रणी भूमिका खेलेको कर्णाली अब पनि समाजवादी मोर्चाको केन्द्र बन्ने जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here