आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ क्षेत्रमा हुदैआएको अनियमित विद्युत आपूर्तिसम्बन्धि समस्या हल हुने भएको छ ।
प्राधिकरणको सिम्रौनगढ वितरण उपकेन्द्रका प्रमुख तैयब अन्सारीले सो क्षेत्रमा अब चौबीसैं घण्टा बिजुली उपलब्ध गरिने र यसको लागि आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो ।नेपाल विद्युत प्राधिकरणको ३९औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै उपवितरण केन्द्रका प्रमुख अन्सारीले शनिवार यस्तो जानकारी दिनुभएको हो ।
‘विद्युत नियमित गर्न आवश्यक उपकरणहरु आइसकेका छन । केही समयभित्रमा चौबीसंै घण्टा बिजुली उपलब्ध हुन्छ ।’ अन्सारीले भन्नुभयो ।

साथै उहाँले आजको समयमा रोटी, कपडा, मकान जस्तै बिजुली पनि आधाभूत आवश्यकताको बस्तु बनेको पनि टिप्पणी गर्नुभएको छ ।
सिम्रौनगढ क्षेत्रमा विद्युत अनियमिताको विरोधमा स्थानीयले लामो समयदेखि माग गर्दैआएका छन । सोही वितरण केन्द्रअन्तर्गत पर्ने पचरौता नगरपालिकाका नगरप्रमुख जलान्धर सिंहसहित स्थानीय जनप्रतिनिधि र उपभोक्ताहरुले २ साताअघि वितरण केन्द्रको मुल गेटमा धर्ना दिएका थिए । सोही क्रममा बाराका प्रमुख जिल्ला अधिकारीसंग भएको संझौताअनुरुपम सिम्रौनगढ क्षेत्रमा नियमित विद्युत आपूर्तिको व्यवस्था गर्न लागिएको हो ।
वार्षिक उत्सवको अवसरमा कार्यालय अन्तर्गतका सक्रिय र २४सैं घण्टा सेवा दिने कर्मचारीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको छ । त्यस्तै चेस, लुडो, घैला फुटाउने र ब्याडमिन्टनलगायत विभिन्न इनडोर खेलहरुमा सहभागी कर्मचारीहरुलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।

सो अवसरमा बारागढी गाउँपालिकाका प्रमुख अशोककुमार जयसवाल, सिम्रौनगढ नगरपालिकाका वडा नम्बर ८, ९, ६, ३, ४ र २ का वडा अध्यक्ष क्रमश रामदिनेश यादव, रामएकवाल यादव, नन्दकिशोर प्रसाद जयसवाल, एजुल्लाह अन्सारी, अवधेश सहनी र अरबिन्द मुखियाको उपस्थिति थियो । ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राई, सशस्त्र प्रहरी निरीक्षक माधव ढुङेललगायत प्राधिकरणका कर्मचारी र स्थानीय भद्रभलादमीको उपस्थिति थियो ।

Leave a Reply