निजगढ,बाराको सिम्रौनगढ नगरपालिकाले गढीमाई मेला भर्न आउने श्रद्धालुहरुको लागि स्वास्थ्य उपचारसहित बिहीवारबाट निःशुल्क भोजन र आवास शिबिर सञ्चालन गरेको छ । नगरपालिकाले मेलामा आउने भक्तजनहरुको लागि आयुर्बेदिक औषधि वितरणसहित खाना र बस्नको लागिनिःशुल्क शिबिर सञ्चालनमा ल्याएको हो ।मेला परिसरमा सञ्चालन गरिएको सो शिबिरको बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले रिबन काटेर उद्धाटन गर्नुभएको थियो । उद्धाटन कार्यक्रममा बोल्दै सांसद मैनालीले मेलामा आउने सर्वसाधारणलाई सेवा प्रदान गर्ने उद्देश्यले शिबिर सञ्चालन गरेर नगरपालिकाले अनुकरणीय कार्य गरेको बताउनुभयो । ‘नगरपालिकाले अनुकरणीय र परोककारी काम गरेको छ, उहाँले भन्नुभयो, पहुनाको सेवा गर्नु धर्म सरह हो ।’
अर्को प्रशङ्गामा सांसद मैनालीले मेलामा बहुमूल्य गहना लगाएर नआउन पनि सर्वसाधारणसंग आग्रह गर्नुभएको छ । ‘मेलामा चोरी र अपराधिक मनोवृत्तिका मानिसले महिला पुरुषले लगाएका बहुमूल्य गहाना लुटपाट गर्नसक्छन, सांसद मैनालीले भन्नुभयो, त्यसैले मेलामा गरगहना लगाएर र ठूलो रकम बोकेर आउनुहुन्न ।’सिम्रौनगढ नगरपालिकाका मेयर किशोरीप्रसाद कलवारको अध्यक्षतामा भएको उद्धाटन कार्यक्रममा मधेस प्रदेश सभा सदस्य राजपतिदेबी जैसवाल, उपप्रमुख नजमु सायर, नेकपा एमाले सिम्रौनगढ नगर कमिटी अध्यक्ष महेन्द्र जैसवाल, एमाले प्रदेश कमिटी सदस्य सुनिल पाल, नेकपा माओवादीका भोजेन्द्र यादव, नेकपा एसका केन्द्रीय सदस्य बतहु यादव, जनमत पार्टीका विवेश सिंहलगायत नगरपालिकाका वडा अध्यक्ष र कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।कार्यक्रमको संचालन नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत हरिओम जैसवालले गर्नुभएको थियो ।


















