मनोज शाह
जीतपुर,वीरगञ्ज– सिमरा औद्योगिक करिडोरमा रहेका उद्योगहरुबाट निस्किने धुलो र धुवाँले जनजीवन प्रभावित बनेको भन्दै स्थानीयले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ परस्वामा रहेको जगदम्बा इन्टरप्रजेज प्रा लिमा घेराउ गरेका छन ।
जगदम्बा इन्टरप्रजेको उद्योगबाट निस्किएका दूषित धुवाका कारण सर्वसाधारणलाई विभिन्न रोग लागेको भन्दै शुक्रवार उद्योगअगाडि भेला भएका सयौं सर्वसाधारणले उद्योग प्रशासन विरुद्ध नाराबाजी गर्दै घेराउ गरेका हुन ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ का वडा अध्यक्ष रेयाजल अन्सारीसहित पीडित स्थानीयको टोली प्रदुषण नियन्त्रणको माग गर्दै उद्योग परिसरमा पुगेकोे थियो । वडा अध्यक्ष अन्सारीले उद्योगबाट निस्किने प्रदुषित धुवा तत्काल व्यवस्थापन गरेर कडा कदम चल्ने चेतावनी दिनुभएको थियो ।

औद्योगिक करिडोर अन्तर्गतको जगदम्बा स्टिल, अशोक स्टिल, उद्योगबाट निस्किने विषाक्त धुवाँले जीतपुरदेखि वीरगञ्जसम्मको वातावरणलाई गम्भीर रूपमा प्रभावित बनाएको स्थानीयले लामो समयदेखि गुनासो गर्दैआएका छन । विशेष गरी रातको समयमा उद्योगले अत्यधिक मात्रामा धुवाँ फाल्दा उद्योगबाट टाढाटाढासम्मको क्षेत्र धुवाँले ढाकिने गरेको छ ।
धुलो र धुवाका कारण सर्वसाधारणको जनजीवन कष्टकर बनेको स्थानीयहरूले गुनासो गरेका छन् । स्थानीय बासिन्दाहरूका अनुसार आँखा पोल्ने, घाँटी सुख्खा हुने, सास फेर्न गाह्रो हुने समस्याहरू दैनिक जसो भइरहेको छ । वृद्ध वृद्धा, बालबालिका र दमका बिरामीहरू धेरै प्रभावित हुने गरेको बताइएको छ ।

प्रदुषण नियन्त्रणको लागि स्थानीयहरूले पटक– पटक सम्बन्धित निकायमा गुनासो गरे पनि उद्योग व्यवस्थापन पक्ष र स्थानीय प्रशासनले कुनै ठोस कदम नचालेको स्थानीयको भनाई छ । “हामी राति घर बाहिर निस्किनै सक्दैनौँ, एकजना स्थानीयले भने, यति धेरै धुवाँ हुन्छ कि निस्सासिएर सास फेर्नै गाह्रो हुन्छ ।” उनका अनुसार उद्योगकै कारण स्थानीयमा आँखामा पोल्ने, घाँटी खसखसाउने समस्या बढेको छ ।सिमराको जगदम्बा स्टिल र अशोक स्टिलले वातावरणीय मापदण्ड उल्लङ्घन गर्दै सबैभन्दा बढी प्रदूषण फैलाइरहेको स्थानीयको आरोप छ । यस्ता गतिविधिलाई तुरुन्त नियन्त्रण गर्न सम्बन्धित निकायहरूलाई दबाब दिनुपर्ने उनीहरुको भनाई छ ।स्थानीय बासिन्दाहरूले यदि तत्काल समाधान नभएमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरूले उद्योगलाई कानुनी दायरामा ल्याई ठोस कारबाही गर्न सरकारसमक्ष माग गरेका छन् ।

Leave a Reply