पुष्पराज खतिवडा

मनहर्वा,सिमरास्थित विमानस्थलमा निजी विमान कम्पनीहरुको लापरबाही अझै रोकिएको छैन । तोकिएको समयमा उडान नगर्ने कम्पनीको लापरबाही धेरै समय अघिदेखि हुँदै आएको हो । यात्रुहरुको गुनासोको बाबजुद पनि विमान कम्पनीहरुले लापरबाही सुधार्न चासो नदेखाएका हुन ।

उडान गर्ने निर्धारित समयलाई बेवास्ता गर्दै विमान कम्पनीहरुले उडान डिले गर्दा हजारौं यात्रु घण्टौंसम्म विमानस्थलमा अलपत्र परेर विमान कुर्न वाध्य बन्दै आएका छन ।

मौसम प्रतिकुल हुँदा बाहेकको अनुकुल मौसममा समेत तोकिएको समयमा कहिल्यै यात्रा गर्न नपाएको यात्रुले बताएका छन् ।

सिमराबाट काठमाडौको लागि श्रीएयरको टिकट लिएर विमानको प्रतीक्षा गरिरहेका यात्रु सुरेन्द्रकुमार गुप्ताले मंगलबार १ः३० बजे अवतरण हुने तालिका रहेको जहाज २ः०० समेत नाआएको बताउनुभयो । यस्तै निजी विमानहरुले पनि निर्धारित समयमै कहिल्यै उडान गरेको भनेर सुन्न नपाएको सिमराका स्थानीय रामलाल खत्रीले बताउनुभयो ।

विमानस्थलबाट सिमरा – काठमाडौ – सिमरा दैनिक एक दर्जनभन्दा बढी उडान हुँदै आएको छ । यति, श्री, बुद्ध लगायत विमान कम्पनीले सिमरा काठमाडौ उडान भर्दै आएको नागरिक उड्यन प्राधिकरण कार्यालय सिमराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here