वीरगञ्ज,पर्साको बहुदरमाई नगरपालिकाका शिक्षक र कर्मचारीले साउनदेखि हालसम्म तलब पाउन सकेका छैनन् । चालु आर्थिक वर्ष शुरु भएदेखि शिक्षक तथा कर्मचारीले पारिश्रमिक तथा सेवा सुविधा वितरण नहुँदाले उनीहरूलाई चाडपर्व मनाउन समस्या भएको छ ।

नगरसभा गर्न भएको ढिलाइले असार १० भित्र पेश हुनुपर्ने बजेट कार्यान्वयनमा ढिलासुस्ति भएको थियो । जसका कारण कात्तिक ८ मा नगरसभा सम्पन्न भएपनि नगरसभाबाट पारित बजेटको खर्चको अख्तियारी नगर प्रमुख सिंगासन साह तेलीले प्रमुख प्रशासकीय अधिकृतलाई नदिँदा बजेट कार्यान्वय हुन सकेको छैन । यसले गर्दा शिक्षक तथा कर्मचारीलाई साउनयता तलब दिइएको छैन भने वृद्ध नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक भत्तालगायतका सुविधासमेत रोकिएको छ ।
यसैबीच, नगरका वडा अध्यक्षहरूले कर्मचारी र शिक्षकका तलब र सामाजिक भत्ता छठ पर्वअघि नै वितरण गरिनुपर्ने माग गर्दै नगर प्रमुखसँग छलफल गरेका थिए । तर, नगर प्रमुखले निर्णय कागजात प्राप्त नगरेकाले हस्ताक्षर गर्न इन्कार गरेको र वडा अध्यक्षहरूले पुनः नगर प्रमुखलाई हस्ताक्षर गर्न दबाब दिएपछि विवाद नै चर्किदा मेयर साह बैठकबाट उठेर हिडनुभएको थियो ।
नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको असमझदारी र नगर प्रमुखको ढिलासुस्तिका कारण बहुदरमाई नगरपालिकाका शिक्षक, कर्मचारी, र सामाजिक भत्ताका लाभग्राहीले समस्या भोग्दैआएका छन ।
नेपालीहरूको ठूलो चाडपर्वको समयमा समेत नगर प्रमुख तेलीको लापरबाही र गलत नियतका कारण सयौँ कर्मचारीहरू तलबविहिन बस्नु परेको स्थानीय युवा नेता चन्दन यादवले आरोप लगाउनुभयो ।

Leave a Reply