निजगढ,महाशिवरात्री पर्वको अवशरमा पर्सा राष्ट्रिय निकुञ्ज दोश्रो जङ्गल लेन क्रस कन्ट्री साईक्लिङ कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।
पर्सा राष्ट्रिय निकुञ्जको मुख्यालय आधाभारबाट शुरु भएको ३९ किलोमिटर साईक्लिङ बारा र पर्साका विभिन्न स्थानमा पुगेर बाराको अमलेखगञ्जमा रहेको निकुन्जको हात्तिसारमा टुङ्गिएको थियो ।
मधेश प्रदेशको मुख्य प्राकृतिक पर्यटकीय क्षेत्रको रुपमा रहेको निकुन्जमा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको हो । साईक्लिङमा विश्व साईकल यात्री पुष्कर साह लगायत नेपालका विभिन्न स्थानका सयौं साईकल राईडरहरुले निकुञ्ज क्षेत्रको परिक्रमा गरेका थिए ।
आधाभारबाट सुरु भएको साईक्लिङ हलखोरिया दह, शक्तेश्वर महादेव मन्दिर परिसर हुँदै अमलेखगञ्जस्थित हात्तीसारमा गएर टुङ्गिएको थियो । कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्नुहुदै मधेसका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले पर्सा राष्ट्रिय निकुन्जको पूर्वाधार बिकास र प्रवद्र्धनको लागि प्रदेश सरकारले महत्वपूर्ण ढङ्गले हेरिरहेको बताउनुभयो ।
यसैगरी समापन समारोहका सभापती निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनालले पर्सा राष्ट्रिय निकुञ्जको प्रवद्धन हुने गरी नगरपालिका कार्यालयले गतिविधि संचालन गर्दै आएको बताउनुभयो ।
मेयर खनालले यस क्षेत्रको पर्यटन प्रवद्र्धधन र विकासको लागि सम्पूर्ण प्रदेशभरिकै पालिकाहरु मिलेर संयुक्त रुपमा बजेट विनियोजन गरेर वृहत कार्ययोजनाका साथ अघि बढेमा छिट्टै सफलता हासिल गर्न सकिने बताउनुभयो ।
गत वर्ष देखि सुरु भएको साईक्लिङ कार्यक्रमलाई निरन्तरता दिइरहन आफ्नो तर्फबाट जहिले पनि सहयोग रहने मेयर खनालले जनाउनुभयो । कार्यक्रममा मधेसका प्रदेशशभा सदस्य सुन्दर विश्वकर्मा, सीता गुरुङ, बरिष्ठ पर्यटन अभियन्ता युवराज लामा लगायत अन्य विशिस्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।