सरकारले आइतबारबाट सार्वजनिक स्थानमा जाँदा अनिवार्य खोपकार्ड बोक्नु पर्ने निर्णय कार्यान्वयनमा ल्याएको बताएको छ । यो निर्णय सुनेपछि सबै खोप केन्द्रमा खोप लगाउनेको भीड थेगी नसक्नु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै जनतालाई अनिवार्य रूपमा खोप लगाउने निर्णय गरेसँगै खोप लगाउनेको भीड बढ्नु स्वाभाविकै पनि थियो । खोप केन्द्रमा भीड बढ्दा त्यहीँबाटै संक्रमित बढ्ने सम्भावना हुने नै भयो । यही अवस्थालाई ध्यान दिँदै विरोधमा आवाज उठेपछि खोप केन्द्रलाई सुरक्षित बनाउने प्रयास पनि थालिएको छ । जसलाई सकारात्मक रूपमा लिनुपर्छ । खोप केन्द्रको उचित व्यवस्थापन गर्न नसक्दा खोप केन्द्रमा भीड बढेको मन्त्रालयले स्वीकार गर्दै सच्याउनु राम्रो पक्ष हो ।

तर अझै पनि खोप केन्द्रहरू सुरक्षित देखिँदैनन् । यद्यपि, उपत्यकाका जनस्वास्थ्य कार्यालयले यथेष्ट मात्रामा खोप केन्द्र कायम गरेको दाबी गरिरहेका छन् । यसअघि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई विद्यालयमै पुगेर खोप लगाउने कार्यक्रम गरियो । यही माघ २ गतेदेखि १४ गतेसम्म फ्रन्ट लाइनमा खटिनेहरूलाई बुस्टर डोज लगाउने व्यवस्था गरेको छ । बुस्टर र पहिलो मात्रा खोप लगाउने एकै ठाउँमा व्यवस्था गरेपछि भीड हुन थालेको हो ।

भीड बढेपछि खोप व्यवस्थापन गर्न सरकारलाई हम्मेहम्मे परेको छ । बुस्टर डोज लगाउन थालेलगत्तै भेरोसिल खोपको अभाव भएको छ । मन्त्रालयले पहिलो मात्रा खोप लगाउनेलाई कोभिसिल्ड लगाउन निर्देशन दिइसकेको छ । पहिलो मात्रा भेरोसिल लगाएकालाई मात्र सो खोप उपलब्ध गराउन निर्देशन दिएको छ ।

एक त खोपको मात्रा कम हुँदै जाने अर्कोतिर खोप लगाउनेको लाइन थपिने भएपछि संक्रमितको संख्या बढ्दै जानु स्वाभाविक भएको मन्त्रालयका अधिकारीहरुको भनाइ छ । मन्त्रालयले माघको दोस्रो सातासम्म दैनिक २० हजार संक्रमित थपिने प्रक्षेपण गरेको छ ।

Leave a Reply