निजगढ,निर्माणाधिन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सार्वेच्चले रोक लगाएको विरोधमा निजगढ सार्वजनिक सरोकार समितिले गर्दै आएको अनशन बिहिवारबाट अन्त्य भएको छ ।

विमानस्थल निर्माण सम्बन्धमा सर्वोच्च अदालतले बुधवार सार्वजनिक गरेको पूर्णपाठलाई सकरात्मक भन्दै समितिले २४ दिनअघि देखि गर्दै आएको रिले अनशन अन्त्य गर्ने निर्णय गरेको हो । नेकपा एमालेका पोलिटब्युरो सदस्य एंव युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेल र सरोकार समितिका पदाधिकारीहरुले एक कार्यक्रमबीच अनशनकारीहरु मिरा पोखरेल, सुनिता खनिया, जानुका न्यौपाने, संझना थापा, आशा श्रेष्ठ, मिथिला घिमिरे, देवकी खनिया, लक्ष्मी गौतम र राधिका धिताललाई जुस खुवाएर दिउसो ३ बजेबाट अनसन तोड्न लगाउनु भएको हो । विमानस्थल निर्माणको माग राखेर निजगढको शहीद चोकमा अनशन हुदै आएको हो ।

यसअघि अनशनस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले भिडियो कलमार्फत निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकार तयार रहेको बताउदै अनशन अन्त्य गर्न आग्रह गर्नुभएको थियो । संघीय मन्त्री श्रेष्ठले नेता पौडेलको मोवाइलमा सम्पर्क गरेर अनशन तोडन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नेता पौडेलले केही अस्पष्टताका बाबजुद सर्वोच्चको फैसला निजगढमा विमानस्थल निर्माण गर्ने सवालमा सकरात्मक रहेको बताउनुभयो । उहाँले विमानस्थल कहाँ बनाउने भन्ने बारेमा अदालत मौन बसेको तर निजगढमा बनाउनु हुन्न पनि नभनेकोले अब विमानस्थल निर्माण गर्ने कार्य सरकारको जिम्मामा आएको बताउनुभयो । उहाँले आयोजनाको काम सुरु गर्न अब सरकारलाई झकझकाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा निजगढ सार्वजनिक सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठ र सदस्य विनोद भारतीले पनि अदालतको फैसलापछि नयाँ परिस्थिति उत्पन्न भएको र अबको आन्दोलन पनि सोही अनुसार अघि बढाउनु पर्ने भएकोले अनशन अन्त्य गर्ने निर्णय गरिएको बताउनुभयो । उहाँहरुले विमानस्थलको शिल्यान्यास नभएसम्म रुप फेरेर भएपनि आन्दोलन जारी राख्नुपर्ने धारणा राख्नुभएको थियो । समितिको बिहीवार बिहान बसेको बैठकले अनशन अन्त्य गर्ने र सरकारलाई दवाव दिने गरी दवावमूलक कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।

निजगढ विमानस्थल निर्माणको माग राखेर समितिले जेष्ठ २४ गतेदेखि निजगढको शहिद चोकमा रिले अनशन सुरु गरेको हो । अनशनको क्रममा बिहीवारसम्म १५० जनाले अनशन गरेको समितिले जनाएको छ । निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीहरुले विमानस्थल निर्माण नगर्ने अदालतको फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै जेठ १२ गतेबाट राके जुलुस, पूर्वपश्चिम लोकमार्गमा चक्काजाम र प्रदर्शन गर्दै आएका थिए । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको आग्रहमा राजमार्गको चक्काजाम अन्त्य गरेपछि समितिले रिले अनशन भने जारी राखेको थियो ।

समितिले निजगढ विमानस्थल निर्माण गर्ने वातावरण तयार पार्न विभिन्न प्रमुख दलका शीर्ष नेताहरुसँग काठमाण्डौंमा भेटर आग्रह गरेको थियो । काठमाण्डौं पुगेको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले टाँगियावस्तिको हाल प्रस्तावित स्थानभन्दा केही पूर्वको स्थानमा सारेर भएपनि सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाएरै छाडने बताउनुभएको थियो । टोलीले नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, पर्यटन मन्त्री, अर्थ मन्त्री जनार्दन शर्मा, वन मन्त्री रामसहायप्रसाद यादव, राप्रपाका अध्यक्ष राजेन्द्र लिडदेन, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर तथा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महत्त्व, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत भेटर ज्ञापन पत्र बुझाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here