नरेश गुप्ता
बरियारपुर,बाराको आदर्श कोतवाल गाउँपालिकाको हरनैयामा रहेको साधना लघुबित्त संस्थाको रकम हिनामिना गरेको अभियोगमा शाखा प्रमुख जितेन्द्र पटेललाई प्रहरीले पक्राउ गरेको छ ।
शाखा प्रमुख पटेलले स्थानीय महिला समुहका सदस्यले जम्मा गरेको २३ लाख ५० हजार रकम हिनामिना गरेकोले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।
लघुबित्तमा आवद्ध एक दर्जन महिला सेवाग्राहीहरुको नाममा आफैले रकम झिकेर पटेलले रकम हिनामनिा गरेको खुलेपछि पटेललाई पक्राउ गरिएको साधना लघुबित्त केन्द्रीय कार्यालय गोर्खाका असुली विभाग प्रमुख संजय शर्माले बताउनुभयो । पटेलले समुहका सदस्यले बचत गरेको रकममध्येमा पनि खातामा कम जम्मा गरेको देखाएर रकम हिनामिना गरेको भन्दै स्थानीय महिलाहरुले शाखा प्रमुखविरुद्ध प्रहरीमा उजुरी गरेका थिए ।
पटेलले महिला सेवाग्राहीहरुलाई झुक्याएर सहिछाप गराएको र उनीहरुको नाममा आफैले रकम निकालेर ठगी गरेको देखिएको प्रहरी प्रवक्ता मिश्रले बताउनुभयो । पटेललाई पक्राउ गरी ठगी मुद्दामा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता मिश्रले बताउनुभयो ।
साधना लघुबित्तले जिल्लाको देवताल गाउँपालिकाको पिप्राडी, फेटा गाउँपालिकाको फुलबरियामा शाखा खोलेर महिला समुहमार्फत बचत तथा ऋण कारोबार गर्दै आएको छ ।