कृष्ण मोहन साह
सेढवा,पर्साको ठोरी गाउँपालिका वडा नम्बर– ४ घ्याङडाँडामा रहेको ज्ञानज्योति माध्यमिक विद्यालमा सरस्वतीको मन्दिर निर्माण गरिएको छ । विद्यालयका संस्थापक एंव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुक्रबहादुर श्रेष्ठले आफ्नै खर्चमा सरस्वती मन्दिर निर्माण गर्नुभएको हो ।
विद्यालय प्राङ्गणमा नवनिर्मित मन्दिरको आइतवार वसन्त पन्चमीको अवसरमा प्राण प्रतिष्ठा गरेर वैदिक परम्परा अनुसार श्रेष्ठ र उहाँकी धर्मपत्नी तिलमाया श्रेष्ठले उद्धाटन गर्नुभएको छ । समाजसेवी श्रेष्ठले २०४७ सालमा विद्यालय स्थापना गर्न पनि अग्रणी भुमिका खेल्नु भएको थियो ।
तत्कालीन समयमा विद्यालय स्थापना गर्न घरघरबाट अन्नपात संकलन गर्ने तथा विद्यालयमा काठको घर निर्माण गर्ने अभियान उहाँकै अगुवाइमा सम्पन्न भएको थियो । साबिक निर्मलवस्ती गाविस– ६ का बासिन्दा रहेका श्रेष्ठ हाल बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा बसोबास गर्दै आइरहनु भएको छ । आफ्नो बलबुतामा स्थापना भएको विद्यालय स्थापना भएको ३ दशक पुगिसक्दा पनि सरस्वती मन्दिर निर्माण नभएको भन्दै उहाँले गत वर्ष विद्यालयमा आयोजित एक कार्यक्रममा मन्दिर निर्माण गर्ने घोषणा गर्नु भएको थियो ।
विद्यालयको अग्रज सम्मान कार्यक्रममा घोषणा गरे बमोजिम श्रेष्ठले करीब ५ लाख ५० हजारको लागतमा मुर्ती सहितको मन्दिर स्थापना गर्नुभएको हो । मन्दिर निर्माणमा श्रेष्ठका छोरा हाल अमेरिका रहँदै आउनु भएका तिलक श्रेष्ठले आर्थिक व्यवस्थापन गर्नुभएको हो । विद्यालय प्राङ्गणमा व्यक्तिगत खर्चमा मन्दिर निर्माण भएपछि शिक्षा र समाजिक क्षेत्रमा समाजसेवी शुक्रबहादुर श्रेष्ठको योगदानलाई भविष्यमा आउने पुस्ताले पनि सम्झिरहने विद्यालय व्यवस्थापन समिति अध्यक्ष राकेश श्रेष्ठले बताउनुभयो ।
आइतवार सम्पन्न मन्दिर उद्घाटन तथा मुर्ति प्राणप्रतिष्ठा कार्यक्रममा ठोरी गाउँपालिकाकी उपाध्यक्ष शान्तिमाया थिङ, ठोरी– ४ का वडाध्यक्ष बईबहादुर तामाङ, साविक निर्मलवस्ती गाविसका पूर्वअध्यक्ष लालबहादुर श्रेष्ठ, ठोरी गाउँपालिका कार्यपािलका सदस्य कान्छीमाया थिङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राकेश श्रेष्ठ, प्रधानाध्यापक पिताचन्द्र ढुङ्गेल, मन्दिर निर्माणमा संयोजन गर्नुहुने रणबहादुर श्रेष्ठ, समाजसेवी, विद्यालयका शिक्षक, विद्यार्थीलगायत स्थानीयको पनि उपस्थिति थियो ।


















