काठमाण्डौ – एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले घरेलु टोली मलेशियालाई हराउँदै लगातार दोस्रो जीत हासिल गरेको छ । बाङ्गीमा रहेको वाईएसडी–यूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले मलेशियालाई ६ विकेटले हरायो । मलेशियाले दिएको १०४ रनको लक्ष्य नेपालले २१ ओभर चार बलमा चार विकेट गुमाएर भेटायो ।

नेपालका अर्जुन कुमालले नटआउट ४५, ईशान पाण्डेले २० रन बनाए । मलेशियाका सैयद अजिज, आरिफ उल्लाह, विरनदीप सिंह र प्रशान्त मधुकरले एक/ एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको मलेशियाले ३२ ओभर ३ बलमा १०३ रन बनाउँदा सबै विकेट गुमायो ।

मलेशियाका कप्तान सैयद अजिजले ३०, अकिल वाहिदले २४ रन बनाए । नेपालका करण केसीले चार, ललित राजवंशीले दुई तथा कप्तान सन्दीप लामिछाने, हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले एक÷एक विकेट लिए । यसअघि नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेटले हराएको थियो ।

एसीसी प्रिमियर कपमा समूह ‘ए’ मा नेपाल, बहराइन, हङकङ, मलेशिया र साउदी अरेबिया रहेका छन् । यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन् । २ वटै समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एशिया कपमा स्थान बनाउनेछ ।
प्रतियोगिताको फाइनल खेल यही भदौ २७ गते शनिवार हुनेछ ।

Leave a Reply