राजकुमार यादव
मौलापुर,तोकिएको मितिभन्दा सात महिना ढिलो गरी रौतहटको फतुवा विजयपुर नगरपालिकाले बिहीवार सातौं नगर सभा सम्पन्न गरेको छ ।संघीय सरकारले प्रत्येक स्थानीय तहले असार मसान्तभित्रमा नगर सभा गरी अगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम ल्याईसक्नु पर्ने व्यवस्था गरेको छ । तर पालिकामा निर्वाचित जनप्रतिनिधिहरु बीचको आन्तरिक द्वन्द र विवादका कारण फतुवा विजयपुरमा गत असार महिनामा नै सम्पन्न गर्नुपर्ने नगर सभा सात महिना ढिलो गरी सम्पन्न भएको हो ।

नगरपालिका कार्यालय परिसरमा कार्यवाहक नगर प्रमुख अम्ब्या खातुनको अध्यक्षतामा फतुवा विजयपुरको सातौं नगर सभा अधिवेशन सम्पन्न भएको हो ।नगरपालिकाले सातौं नगर सभाद्वारा यस चालु आर्थिक वर्ष २०८०- ०८१ का लागि ४८ करोड ५ लाख ८८ हजार दुई सय रूपैया बजेट सर्वजनिक गरेको छ । नेपाल सरकारको संघीय बजेटबाट समानीकरण अनुदान, सशर्त अनुदान (चालु), सशर्त अनुदान (पूँजिगत), गरि जम्मा . ३२ करोड ४१ लाख १२ हजार विनियोजन गरिएको छ ।
त्यस्तै संघीय राजस्व बाँडफाँडबाट रु ९ करोड ८२ लाख १४ हजार २ सय, मालपोत सिफारिस दस्तुर ३० लाख, मालपोत जग्गा रजिष्ट्रेशन बाँडफाँड वापत प्राप्त हुने १ करोड २० लाख, प्रदेश सरकारबाट प्राप्त हुने सवारी साधन कर २५ लाख र प्रदेश समानीकरण अनुदान ८० लाख ६२ हजार, प्रदेश समपुरक अनुदान २० लाख, प्रदेश विशेष अनुदान ३० लाख, प्रदेश सशर्त (पूँजिगत). ८० लाख, आन्तरिक श्रोतबाट १ करोड ५० लाख र सडक बोर्डबाट प्राप्त हुने अनुदान ४७ लाख रहेको छ ।

प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले नगरको समग्र विकासका लागि उक्त बजेट प्रस्तुत गर्नुभएको थियो । अधिकृत प्रधानले चालु आर्थिक वर्ष २०८०÷ ०८१ को निति तथा कार्यक्रम समेत प्रस्तुत गर्नुभएको थियोे । नगर सभाले अफ्ना नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, भौतिकपूर्वधार, कृषि र खानेपानी लगायको क्षेत्रलाई विशेष प्राथमिकता राखेको जनाइएको छ ।रौतहटमा रहेको १८ वटा स्थानीय तहमध्ये अहिलेसम्म १७ वटा पालिकाले नीति, कार्यक्रम तथा बजेट ल्याईसकेको अवस्थामा जनप्रतिनिधिहरुबीच कुरा नमिल्दा फतुवा विजयपुर नगरपालिकाको नगर सभामा ढिलाई हुदै आएको थियो । तर निकै लामो समयको प्रयासपछि जनप्रतिनिधिहरुबीच सहमति भएको र नगरपालिकाको सातौं नगर सभामा प्रस्तुत नीति कार्यक्रम तथा बजेट बहुमतले पारित भएको हो । नगर सभामा नगरपालिकाका सबै ११ वटै वडाका वडाध्यक्ष सहित कार्यपालिकाका बहुमत सदस्यको उपस्थिति रहेको थियो ।

Leave a Reply