वीरगन्ज,भारतबाट तस्करी गरि ल्याइएको भनेर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर वीरगन्ज भन्सार कार्यालयमा बुझाएको एक ट्रक पाडा भन्सार कार्यालयले फिर्ता गरि दिएको छ । पर्साको जगरनाथपुर गाँउपालिकाबाट ट्रकमा लोड गरेर काठमाण्डौ लैजादै गरेको ३० वटा पाडा वीरगन्जको पिपरास्थित सडकबाट सोमबार बिहान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर वीरगन्ज भन्सार कार्यालयमा बुझाएको थियो । तर वीरगन्ज भन्सार कार्यालयले सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको पाडा नेपालकै गाँउमा खरिद गरिएको पुष्टि भएपछि सम्बन्धित पाडा धनीलाई जिम्मा लगाएर पठाइ दिएको हो । पाडा धनीले नेपालकै गाँउमा खरिद गरिएको गाँउपालिका कार्यालयले सिफारिस गरेको र पशु क्वारेन्टिनमा परीक्षण गरिएको लगायतका कागजपत्र देखाएपछि फिर्ता गरिएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विश्व अर्यालले बताउनुभयो ।
पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले भने भारतबाट तस्करी गरि जगरनाथपुर गाँपालिकामा ल्याइएको पाडा ट्रकमा लोड गरेर काठमाण्डौ लैजान थालिएको सूचनाका आधारमा पाडा सहितको ट्रक नियन्त्रणमा लिएर आवश्यक कार्वाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइदिएको भएपनि भन्सार कार्यालयले ती पाडाहरु सम्बन्धित व्यपारीलाइ फिर्ता गरि दिएको जानकारी आफुले पाएको बताउनुभयो । जगरनाथपुरका स्थानीयबासीले भने पाडाको तस्करीमा गाँउपालिकाकै जनप्रतिनिधहरु संलग्न रहेको बताएका छन् । दिनहुँ भारतबाट अवैध रुपमा सिमा कटाएर ल्याइएका पाडा जगरनापुर गाँउपालिकामा जम्मा गरेर त्यहाबाट ट्रकमा लोड गरि काठमाण्डौ पठाउने काम भइरहेको स्थानीयबासीले बताएका छन् ।