निजगढ,केही दिनयता निजगढका बालबालिकामा ज्वरोको प्रकोप देखापरेको छ । ज्वरोका बिरामी बढेसंगै स्थानीय अस्पताल र क्लिनिकहरुमा उपचार गराउन आउने बिरामीहरुको संख्या बढेको छ ।
बिरामीहरुमा ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, हातखुट्टा करकर खाने, छाती र घाँटी दुख्नेलगायतका लक्षण देखिने गरेको चिकित्सकहरुले बताएका छन् । बालबालिकालाई ज्वरो आउने, ज्वरो घट्ने, शरीरका केही भागमा तापक्रम बढे पनि केही भागमा चिसोपना नै रहनेलगायतका लक्षण देखिएको छ । कतिपय बिरामीमा अधिक टाउको दुख्ने, बान्ता हुने लक्षणसमेत देखापरेको छ ।
प्रकोपबाट विद्यालय जाने उमेरका बालबालिकाहरुमा सबैभन्दा बढी प्रभावित बनेको र धेरैमा भाइरस इन्फ्लेक्शन देखिएको सामुदायिक अस्पताल निजगढ ९ का चिकित्सक सतिश निरौलाले बताउनुभयो ।उहाँले अस्पतालमा आएका केही बालबालिकामा कोभिडसंग मिल्दोजुल्दो लक्षण लक्षण पनि देखिएकोले सबैले सजग हुनुपर्ने बताउनुभयो । चिकित्कस निरौलाले बालबालिकालाई घरमै राखेर पनि ज्वरोको रोकथाम गर्न सकिने र प्यारासिटामोल जस्ता सामान्य औषधि र पानीपट्टीको प्रयोग गर्न पनि सुझाव दिनुभएको छ ।
यसैबीच निजगढ नगरपालिकाको वडा नम्बर ३ सिंगौलमा पनि रुघाखोकी र ज्वरोको प्रकोप बढेपछि स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार गराउन आउनेहरुको भीड लाग्न थालेको छ । अहिले वडा नम्बर ३ का घरैपिच्छे ज्वरोका बिरामीहरु रहेको सिगौलबाट हाम्रा सहकर्मी बसन्त लामाले जनाउनुभएको छ ।
उपचारका लागि स्वास्थ्य चौकी र निजी ल्किनिकमा आउने बिरामीमध्ये ३५ प्रतिशतमा मौसमी रुघाखोकी र ज्वरो पाइएको सिंगौलस्थित जनहित मेडिकल पसल सञ्चालक राजु खुलालले जानकारी दिनुभएको लामाले बताउनुभयो ।


















