नरेश गुप्ता
बरियारपुर,हरेक वर्ष झै यस वर्ष पनि विद्याकी देवी सरस्वतीको आइतवार धुमधामका साथ पूजा गरिएको छ ।
माघ महिनाको वसन्त पंचमीको दिन विद्यालय र सरस्वतीको मन्दिरमा विद्याकी देवी सरस्वतीको पूजापाठ गरी आशिर्वाद लिने गरिन्छ । यसै दिनमा सानासाना बालबालिकालाई अक्षर चिनाउने दिनको रुपमा समेत लिने गरिन्छ । यो दिनमा अक्षर चिनायो भने बालबालिकको पछिसम्म पनि पढाइ राम्रो हुने विश्वासमा यस्तो गरिएको हो ।
सरस्वती पूजाको लागि बिहानैदेखि बारा जिल्लाका शैक्षिक संस्थाहरुमा विद्यार्थीहरुको भीड लागेको थियो । सरस्वती पूजन समारोहको लागि काँचो माटोबाट बनाइएका सरस्वतीका आकर्षक मुर्तिहरु विद्यालयहरुमा सजाएर राखिएका थिए । ज्ञानको सागरको रुपमा सरस्वतीलाई पूजा गरेर बिद्यार्थीहरुले आशिर्वाद लिने गर्दै आएका छन । विद्यार्थीहरुले नुहाइधुवाई गरी फूलमाला, अवीर, प्रसाद सरस्वती मातालाई चढाएका थिए ।
कोभिड १९ को तेस्रो लहरको बाबजुद पनि बारा जिल्लाका सामुदायिक र संस्थागत विद्यालयलगायत अन्य शैक्षिक संस्थाहरुमा पनि धुमधामका साथ सरस्वती पूजा मनाइएको हो ।

















