मुलतः देशमा रोजगारी र सामाजिक सुरक्षाको अभाव छ । बिदेसिनु नेपाली युवाहरूको रहर मात्र नभई, बाध्यता पनि हो । विदेशी भूमिमा पसिना चुहाएर पनि स्वदेशी माटोका लागि युवाहरूको महत्वपूर्ण योगदान छ । अर्थात्, उनीहरूले पठाएको रेमिट्यान्स नै देशको प्रमुख आय स्रोत बनिरहेको छ । विदेशमा युवाले चुहाएको रगत र पसिनाबाट कमाएको पैसा स्वदेशमा आउँदा सरकारले गौरव महसुस गर्छ । तर, तिनै पसिना चुहाउनेहरू समस्यामा पर्दा भने बेखर जस्तै बन्छ । आफ्ना नागरिकले पैसा पठाउँदा रेमिट्यान्स ‘यति आयो, उति आयो’ भन्दै तीन हातमाथि उफ्रिन्छ । कसैलाई समस्या पर्दा भने सरकार औपचारिकताका पुलिन्दा अघि सार्छ, समस्याबाट ‘पुच्छर लुकाएर’ भाग्ने कोसिस गर्छ । अर्थात, ‘माछा भए भित्र हात, भ्यागुता देखे बाहिर हात’ जस्तै व्यबहार गर्छ सरकार ।

पछिल्लो समय, बुटवलका दामोदर क्षेत्री साउदी अरबमा ‘बन्दी जीवन’ जिउन बाध्य छन । उनको समस्या त्यति ठूलो पनि छैन । सरकार वा मनकारी मनले २५ लाख रुपैयाँको जोहो गरिदिए मात्र उनको जीवन जोगिनेछ । साउदीबाट मुक्त भएर स्वदेश फर्किन पाउनेछन । साउदीमा उनले चलाएको गाडी दुर्घटनामा प¥यो । कम्पनीले बदमासी गरेर क्षेत्रीबाटै गाडीको क्षतिपूर्ति भराउने निर्णय ग¥यो ।

कम्पनीले बिमाबापतको २५ लाख असुल गर्ने षड्यन्त्र रच्यो । मासिक ‘केही हजार’ का लागि साउदीमा ड्राइभरको जागिर खान गएका क्षेत्रीसँग यति ठुलो रकम तिर्ने आर्थिक हैसियत नै भएन। चार वर्ष जेल परे । नौ महिनाअघि साउदीको जेलबाट छुटे । फेरि, कुन दिन प्रहरीले थुन्ने हो, तनावमा छन् । सहयोगका लागि साउदीस्थित दूतावासदेखि विदेशमा रहेका नेपालीको हकहितमा काम गर्ने एनआरएनएसँग पनि गुहार मागिसकेका छन । आश्वासन पनि पाएका छन्, तर कतै कसैबाट सहयोग पाएका छैनन । तै पनि राहत प्राप्तिको लागि उनको प्रयास जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here