जनकपुरधाम,मधेस प्रदेश नामाकरण गरिएकोमा असहमति जनाउँदै जनकपुरका युवाहरुले प्रदेश सांसदहरुको पुत्ला जलाएका छन् । २२ जिल्लालाई समेटेर मात्रै मधेश प्रदेश बनाउनुपर्नेमा अन्यथा भएको भन्दै उनीहरुले त्यसको विरोधमा मंगलबार बिहानै जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरुको पुत्ला दोहन गरेका हुन् ।
८ जिल्लाको मिथिला र भोजपुराको पहिचानलाई समाप्त हुने गरी मधेश प्रदेश बनाएकाले त्यसको विरोधमा प्रर्दशन गर्नु परेको युवा सुशील कर्णले बताउनु भयो । उहाँले २२ जिल्लालाई मधेश प्रदेश बनाउनुपर्ने मागसहित मधेश आन्दोलन भएको उल्लेख गर्दै ८ जिल्लालाई मात्रै समेटेएर बनाइएको मधेश प्रदेश मान्य नहुने चेतावनी समेत दिनु भयो ।
त्यसक्रममा उनीहरुले मधेसी जनताको पहिचानमाथि नै खेलवाड गर्ने कार्य मधेस केन्द्रित दलहरुबाट भएको आरोप समेत लगाएका छन् । पुतला दहन गरिरहँदा युवाहरुले ‘प्रदेश सांसद मुर्दावाद’, ‘८ जिल्लालाई मात्रै मधेश प्रदेश मान्दैनौं’, ‘पहिचानसहितको मिथिला–भोजपुरा प्रदेश नामाकरण गर’ लगायतका नाराहरु लगाएका थिए ।
यता, प्रदेश सरकारले प्रदेशको नामाकरण मधेस प्रदेश र राजधानी जनकपुर भएको खुसीयालीमा मंगलबार सार्वजनिक विदा दिएको छ । त्यसैगरी मधेश सरकारले बलिदानी दिवसको अवसरमा बुधबार पनि प्रदेशमा सार्वजनिक विदा दिएको छ ।
मधेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ । सोमबार (हिजो) प्रदेशसभामा भएको गोप्य मतदानपश्चात् प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधाम भएपछि मधेश सरकारले त्यसको खुशीयालीमा आज सार्वजनिक बिदा दिएको हो ।
मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गर्ने युवक पक्राउ
वीरगन्ज,मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीको वीरगन्जस्थित घरमा ढुङ्गा प्रहार गर्ने युवक पक्राउ परेका छन् ।
मंगलबार दिउँसो वीरगन्ज महानगरपालिका वडा नम्बर १३ तेजारथ टोलस्थित मुख्यमन्त्री राउतको निवासमा ढुङ्गा प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेका हो ।
नेपाली कांग्रेसले जनकपुरलाई प्रदेशको राजधानी बनाएको विरोधमा निकालेको मोटरसाइकल ¥यालीबाट निस्करे मुख्यमन्त्री राउतको घरमाथि ढुङ्गा ढुङ्गा प्रहार गर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर १ निवासी २६ वर्षीय सुमन पटेललाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
पटेलले प्रहार गरेको ढुङ्गाबाट राउत निवासको २ वटा झ्यालको सिसा फुटेको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले पक्राउ गरेका पटेलविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी प्रवक्ता डिएसपी खनालले बताउनुभयो ।
यता नेपाली कांग्रेस वीरगन्ज महानगर कमिटीका अध्यक्ष भोला कलवारले केही उच्छृंखल व्यक्तिले पार्टीलाई बदनाम गराउने उद्देश्यले यस्तो गरेको प्रतिक्रिया दिनुभएको छ ।



















