कलैया,बारा प्रहरीले पिकअप गाडीमा ओसार पसार भइरहेको अवस्थामा दुई क्विन्टल तीन किलो ८५० ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले बिएसी २३४३ नम्बरको योद्धा पिकअप गाडी चालक मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ बस्ने २४ वर्षीय निशानबहादुर सेन्चुरीलाई उक्त परिमाणको गाँजासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरी चौकी जैतापुर र अस्थायी प्रहरी पोष्ट पिलुवाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्लाको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १८ बडर्वास्थित मनहरीबाट कलैयातर्फ आउदै गरेको विएसी २३४३ नम्बरको योद्धा पिकअपलाई शंका लागी रोकी चेकजाँच गर्ने क्रममा उक्त युवकलाई लागूऔषध गाँजासहित पक्राउ गरिएको हो ।
उक्त गाडीको पछाडिको भागमा फल्स बटम बनाई कालो प्लष्टिकमा लागूऔषध गाँजा २०३ किलो ८५० ग्राम (२० बिस पोका) ओसारपसार गर्दै गरेको अवस्थामा पक्राउ गरिएको बाराका प्रवक्ता एवंम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभएको छ । डिएसपी पण्डितका अनुसार लागूऔषध गाँजा, गाडीसहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

















