काठमाण्डौं,बङ्गलादेशमा रोजगारीमा आरक्षणसम्बन्धी व्यवस्थाको विरोधमा भएको प्रदर्शनमा ६ जनाको ज्यान गएको छ । विरोध प्रदर्शन हिंसात्मक हुँदै गएपछि देशभरका विद्यालय र विश्वविद्यालय अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको बीबीसीले जनाएको छ ।
बङ्गलादेशमा देशको स्वतन्त्रताका लागि लडेका छोराछोरीलाई सरकारी जागिरमा आरक्षण दिइएको छ । सन् १९७१ मा बङ्गलादेशमा स्वतन्त्रता सङ्ग्रामपछि पाकिस्तानबाट अलग भएको थियो । आरक्षण प्रणालीले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने सरकार समर्थक समूहका बच्चाहरूलाई अनुचित रूपमा फाइदा पु¥याएको देखिन्छ ।
शेख हसिना गएको जनवरी महिनामा भएको चुनावमा जित हासिल गर्दै लगातार चौथो पटक प्रधानमन्त्रीमा विजयी हुनुभएको हो । उहाँ बङ्गलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानकी छोरी हुनुहुन्छ । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको यो व्यवस्थाविरुद्ध केही दिनदेखि विरोध प्रदर्शन भइरहेको छ ।
यसअघि सन् २०१८ मा पनि हप्तासम्म विरोधपछि यो भर्ना प्रणालीमा प्रतिबन्ध लगाइएको थियो । तर गएको महिना मात्र एक अदालतले यो आरक्षण प्रणाली पुनर्स्थापित गरेको हो ।यसैबीच बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासले अत्यावश्यक कामबाहेक आफू बसेको स्थान र होस्टेलबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई अनुरोध गरेको छ ।
राजदूतावासले कारणवश कलेज प्रशासनले होस्टेलबाट सुरक्षित स्थानमा जान वा आफू बसेको स्थान प्रतिकूल भएमा दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
राजदूतावासले नेपाली विद्यार्थी अध्ययनरत कलेजसँग निरन्तर सम्पर्कमा रहेको पनि जनाएको छ ।बंगलादेशमा सरकारी जागिरमा रहेको कोटाको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । आन्दोलनका कारण ६ जनाको मृत्यु भएको छ । र अर्को सूचना जारी नभएसम्मका लागि बंगलादेशका विद्यालय र विश्वविद्यालय बन्द गरिएको छ । विशेष गरी मेडिकल शिक्षाका लागि नेपाली विद्यार्थी बंगलादेश जाने गरेका छन् ।

















