हरेक व्यक्ति जन्मन्छ अनि बालिक हुन्छ । बालिक भएपछि उसमा संविधान अनुसार केही अधिकार पनि पाउँछ । यस्तै मध्येको एक हो, मतदान गर्न पाउने अधिकार । नागरिकताको प्रमाण पत्र पाएपछि हरेक नेपाली नागरिकले मतदान गर्न पाउँछन । निर्वाचनमा मतदान गर्न पाउने नागरिकको अधिकार हो । उसले कुन दललाई छान्छ त्यो पनि उसको अधिकारको कुरा हो । मतदान गर्न पाउनु अधिकारमात्रै नभएर नागरिकको कर्तव्य पनि हो । हरेक नागरिकले असल र इमान्दार मानिसहरुलाई चुनेर देश विकासमा टेवा पुर्याउनु पर्छ ।
सबै बालिक र योग्य व्यक्तिहरुले सेवा लिन सकून भनेर नै सरकारव्दारा जिल्ला स्तरमा निर्वाचन कार्यालयहरु स्थापना गरिएको छ । त्यत्ति मात्रै होइन निर्वाचन आयोगमार्फत जिल्ला स्ततरमा मतदाता नामावली संकलनका लागि अभियान नै संचालन पनि गर्ने गरिन्छ । बारामा पनि यो अभियान संचालन भइरहेको छ र आयोगले मतदाता नामावलीमा नाम समावेश गर्ने कार्य गरिरहेको छ ।
पछिल्ला दिनमा राजनीतिक दलहरुले मतदाताका लागि अलिकति भएपनि अभियान चलाएको देखिन्छ तर उनीहरुले आफ्नो स्वार्थका लागि नै भएपनि यो अभियान अझै प्रभावकारी बनाउन आवश्यक छ ।
बाराका राजनीतिक दलहरुले पनि अझै छुटेकाहरुलाई निर्वाचन कार्यालयसम्म आउने वातावरण बनाइदिए अझ राम्रो हुन छ र मतदान गर्ने आफ्नो अधिकारबाट नागरिकहरु बन्चित हुनुपर्ने अवस्था आउने थिएन ।















