काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १० औँ राष्ट्रिय महाधिवेशन आइतवारदेखि काठमाण्डौमा शुरु भएको छ । काठमाण्डौको नेपाल प्रज्ञा प्रतिष्ठानमा अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनको उद्घाटन गर्नुभएको छ ।महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, विभिन्न पार्टीका नेताहरू चित्रबहादुर केसी, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, उपेन्द्र यादव, डा. सीके राउत, रञ्जिता श्रेष्ठ लगायत पुग्नुभएको थियो । तर उद्घाटन सत्रमा नेकपा एमालेका भने कुनै प्रतिनिधि पनि पुगेनन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पटक पटक फोन र म्यासेज गर्दा पनि प्रतिनिधि नआएको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बताउनुभयो ।
यही असार २० गतेसम्म चल्ने महाधिवेशनमा देशभरिबाट एक हजार आठ सय ४७ जना प्रतिनिधि आएका एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले बताउनुभयो । २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा स्थापना भएको पार्टीकै निरन्तरताका रूपमा १० औँ महाधिवेशन आयोजना गरिएको उहाँको भनाई छ ।
झन्डै तीन वर्षअघि एमालेबाट अलग भई नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो । पार्टी विधानअनुसार केन्द्रीय कमिटी दुई सय ९९ सदस्यीय, पदाधिकारी सङ्ख्या २१ जना र पार्टी केन्द्रीय कमिटीले निर्णय गरी सम्मानित नेता र वरिष्ठ नेताको व्यवस्था गरिने पार्टीले जनाएको छ ।
यसैबीच एकीकृत समाजवादी पार्टीको अध्यक्ष पदमा अहिलेका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालबीच प्रतिस्पर्धा हुने भएको छ । सम्मानित नेता झलनाथ खनालले आफ्नो समर्थन घनश्याम भुसाललाई रहने बताइसक्नुभएको छ ।महासचिव घनश्याम भुसालले आफूले समाजवादी आन्दोलनमा ठूलो योगदान दिएको र पुस्ता हस्तान्तण गरेर आफूलाई अध्यक्षमा सघाउन आग्रह गर्नुभएको छ । तर माधवकुमार नेपालले पनि अध्यक्षमा दाबी छाड्नुभएको छैन । माधव नेपालसँग कुरा गरेर भुसाललाई सर्वसम्मत अध्यक्ष बनाउने खनाल–भुसाल समूहले तयारी गरेको छ । सर्वसम्मत नभए पनि चुनावमार्फत भए पनि अध्यक्ष बन्ने नेपाल र भुसालको तयारी छ ।


















