नेपालमा भएको अहिलेको राजनीतिक घटनाक्रमले नेपाललाई बिश्वसामु बद्नाम बनाएको छ । व्यक्तिगत लाभमा विवाद भएपछि विभाजन भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बारेमा राष्ट्रिय रुपमा मात्र होइन अन्तर्राष्ट्रिय रुपमा समेत चासो र चिन्ता व्यक्त गर्ने क्रम बढ्दो अवस्थामा रहेको छ । छिमेकी मुलुक भारतले नेपालको आन्तरिक मामिला भनेर पन्छन खोजेपनि उसले नेकपा विभाजनलाई अनौपचारिक रुपमा निहालिरहेको छ भने अर्को छिमेकी मुलुक चीनले भने आफ्नो विषेश दूत नै नेपाल पठाएको छ ।अहिले नेकपा विभाजनलाई रोक्न चीनले गरेको प्रयत्नलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
दुई खेमामा विभाजित भएको नेकपाका नेताहरुलाई मिलाउने प्रयासमा लागेको भनिएको चिनिया विषेशदूतको टोली नेताहरुलाई भेट गर्ने क्रमलाई तीव्रता दिएको भएपनि यसको सकारात्मक वा नकारात्मक परिणाम भने देखिसकिएको छैन । दुई खेमालाई मिलाउने प्रयत्नमा रहेको चिनिया टोलीले हार भने मानिसकेको देखिंदैन । सैद्धातिक लडाइँभन्दा पनि व्यक्तिगत टकरावले पार्टी विभाजन भएपछि अहिले एकले अर्कालाई दोष दिने क्रमले तीव्रता पाएको बेलामा नै चिनिया विषेशदूतको आगमनपछि दुवै खेमा दुविधाामा परेको देखिन्छ ।
चिनिया टोलीले मिलन बिन्दु भए–नभएको बारेमा नेताहरुलाई स्पष्ट पार्न आग्रह गरिरहेको भएपनि दुवै खेमाले आलटाले जबाफ दिइरहेकाले टोली केही अलमलमा परेको देखिन्छ । पार्टी विभाजनमा देशी–विदेशी शक्ति सक्रिय रहेको आरोप दुवै पक्षले लगाएपनि को कहांँबाट परिचालित भए भन्ने विषयमा दुवै पक्षले भन्न सकिरहेका छैनन् ।राजधानीमा प्रधानमन्त्री केपी ओलीविरुद्ध पुष्पकमल दाहाल (प्रचण्ड) माधवकुमार नेपाल समूहले विशाल प्रदर्शन गरेर प्रधानमन्त्री ओलीलाई दवाव दिने प्रयत्न गरेको देखिन्छ । राजधानीमा निकालिएको विरोध ¥यालीपछि प्रचण्ड–नेपाल समूह उत्साहित भएपनि त्यसको सन्देश भने सकारात्मक देखिदैन । दुई खेमामा विभाजित नेकपा आगामी चुनावमा जाँदा भने सर्वनाक हार हुने देखिन्छ । अहिले एकले अर्कालाई हिलो छ्यापाछ्याप गरेपनि त्यसको प्रभाव चुनावमा पर्ने स्पष्ट नै छ ।
















