नरेश गुप्ता
बरियारपुर,जिल्ला प्रहरी कार्यलय बाराले आर्थिक वर्ष ०७८÷०७९ को मंसिर मसान्तसम्ममा हातहतियारसहित ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई हातहतियार तथा खरखजना सम्बन्धि मुद्दामा कारबाही चलाएको छ ।
चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा ५ हातहतियार सम्बन्धि ५ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी बाराको तथ्यांकले देखाएको छ ।
भारतसंग जोडिएको खुल्ला सिमानाको कारण जिल्लामा हातहतियार ओसारपसारमा भारतीय नागरिक र स्थानीय युवाहरु पनि सक्रिय हुन थालेको पाइएपछि नियन्त्रणको लागि प्रहरीले निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।
पछिल्लो एक हप्तामा मात्रै बाराको परवानीपुरबाट १ जना र सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बाट दुईजना भारतीय नागरिक पक्राउ परेपछि हातहतियार कारोबारमा भारतीय नागरिक र स्थानीय युवाहरुको संलग्नता देखिएको हो ।
हातहतियार सम्बन्धि मुद्दामा पक्राउ परेका अभियुक्तलाई प्रहरीले २५ दिनसम्म थुनामा राखी अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ ।
बारामा हातहतियार खरिदबिक्री गर्ने भारतीय गिरोह सक्रिय रहेकोले यस्ता गतिविधि बढेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिनुभयो । अवैध हतियारको कारोबार नियन्त्रण गर्न प्रहरीले सिमानाकाका प्रहरी युनिटलाई कडा निर्देशन दिइएको उहाँले बताउनुभयो । खल्ुला सिमानाको कारण अबैध हातहतियार ओसारपसार भइरहेकोले प्रहरीले त्यसतर्फ निगरानी बढाएको प्रहरी उपरीक्षक शाहीले बताउनुभयो ।
हतियारसहित हिडडुल गर्ने मानिसहरुको देखा पर्न थालेपछि सर्वसाधारण नागरिकहरुमा त्रास फैलिएको नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहताले बताउनुभयो । अवैध हतियार बोकेर हिडने प्रवृत्ति बढेको भन्दै उपाध्यक्ष मेहताले नियन्त्रणको लागि प्रहरी थप सचेत हुनु पर्ने पनि बताउनुभयो ।


















