दुष्यन्त चौधरी
कलैया – बाराको करैयामाई गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २० लाख ५४ हजार १०६ रुपैयाँ ५० पैसा सहयोग गर्ने भएको छ । गाउँपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमार्फत विपद्को कठिन परिस्थितिमा बाढी प्रभावित परिवारलाई सहयोग पु¥याउने उद्देश्यले रकम उपलब्ध गराउन लागिएको जनाएको छ ।
गाउँपालिकाका अनुसार विपद् व्यवस्थापन कोषबाट २ लाख ५१ हजार रुपैयाँ, जनप्रतिनिधिबाट २ लाख ९८ हजार २५० रुपैयाँ, गाउँपालिकाका कर्मचारीबाट ६ लाख ८२ हजार ९५१ रुपैयाँ ५० पैसा तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट ८ लाख २१ हजार ९०५ रुपैयाँ संकलन गरिनेछ ।
जनप्रतिनिधितर्फ गाउँपालिका अध्यक्षले एक महिनाको सेवा सुविधा तथा अन्य जनप्रतिनिधिले १५ दिनको सेवा सुविधा सहयोग गर्ने भएका छन् । त्यस्तै, अधिकृतस्तरका कर्मचारीले सात दिन, सहायकस्तरका कर्मचारीले पाँच दिन र श्रेणीविहीन सहयोगीस्तरका कर्मचारीले दुई दिनको तलब सहयोग गर्ने जनाइएको छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले समेत तोकिएको अवधिको तलब सहयोग गर्ने भएका छन् ।
गाउँपालिकाले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र, पेशागत संघ–संस्था तथा आम नागरिकलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ । प्रेस विज्ञप्तिमा करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादव, उपाध्यक्ष सुनैना कुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले संयुक्तरूपमा हस्ताक्षर गरेका छन् ।

















