निजगढ,प्रहरीले निजगढ नगरपालिका वडा नम्बर १३ भक्तलाल र वडा नम्बर १२ को कुलियामा अवैध रुपमा लगाइएको गाँजा खेती बिहीबार फडानी गरी नष्ट पारेको छ ।
ईलाका प्रहरी कार्यालय निजगढ र सशस्त्र प्रहरी बेस क्याम्प निजगढबाट बिहीबार बिहान गएको संयुक्त टोलीले भक्तलाल र कुलियाका स्थानीयले मकैबारीभित्र र करेसाबारीमा लुकाएर लगाएको करिव ५ कठ्ठा क्षेत्रफलको गाँजा फडानी गरी नष्ट पारेको हो । प्रहरीका अनुसार प्रहरीको आँखा नपरोस भनेर स्थानीयले मकैबारीको बीचमा, घर नजिक करेसाबासी र राष्ट्रिय वन क्षेत्रको झाडी छेउछाउमा लगाएको गाँजा फडानी गरिएको हो ।
ईलाका प्रहरी कार्यालय निजगढले रतनपुरी क्षेत्रमा अवैध रुपमा लगाइएको गाँजा फडानी अभियानलाई जारी राख्ने बताएको छ ।
चारकोसे झाडीकोबीचमा र चुरे डाडाको खोचमा पर्ने सो क्षेत्रमा विगत लामो समयदेखि गाँजा खेती हुदै आएको छ ।