कृष्ण मोहन साह
सेढवा,पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ मा रहेका भूमिगत सिँचाई योजनाको विद्युतीय ट्रान्फरमर मंगलवार राती चोरी भएको छ ।सो वडाको गढैया, बिजबनिया र जमुनिया टोलको बीचमा संचालनमा रहेको योजनाको ५० केभिएको ट्रान्फरमरको सामग्री चोरी भएका वडाध्यक्ष सुभाषकुमार यादवले बताउनुभयो ।सो ट्रान्सफरमरका भित्री भागमा हुने तामाका सामान चोरी भएको वडा अध्यक्ष यादवले बताउनुभयो । ट्रान्सफरमरका अन्य फलामका सामानहरु त्यतिकै फालिएको अवस्थामा भेटिएको वडा अध्यक्ष यादवले जानकारी दिनुभएको छ । चोर समूहले ट्रन्फरमरमा जडान गरिएका ११ हजारको हाई एक्सटेंशनको बिद्युत काटेर चोरी गरेका हुन ।
यसअघि पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ को निचुटा र देउरियाको बीचमा रहेका योजनाका भवनसँगै पोलमा रहेका ५० केभिएका ट्रान्सफरमरका सामग्री साउन महिनाको अन्तिम सातामा राती चोरी भएको थियो ।विद्युत काम सम्बन्धित अनुभव भएकाहरुले संगठित रुपमा ट्रान्सफरमर चोरी गरिरहेको नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले बताएका छन । चोर समूहले ट्रान्सफरमरमा प्रयोग भएको तामाका क्वाइलका लागि चोर्ने गरेको प्रधिकरणका कर्मचारीहरुले बताएका छन ।
एउटा ट्रन्सफरमरभित्र करिब ७०-८० केजीको तामाका क्वाईल जडान रहने र सोको कवाडमा बजार भाऊ १५ सय रुपैया प्रति केजी रहेको कर्मचारीहरुको भनाई छ ।भूमिगत सिँचाई डिभिजन कार्यालय वीरगञ्जका इलेक्ट्रिक इन्जीनियर केशरकुमार पटेलका अनुसार यी योजनाहरु गाँउभन्दा बाहिर सुनसान स्थानमा रहेकाले यसको चोरी हुने गरेको हो । ट्रान्सफरमरको चोरी रोक्न कार्यालयबाट समेत जनशक्ति खटाए पनि चोरी रोक्न नसकिएको इन्जीनियर पटेलले बताउनुभयो ।पर्सा जिल्लामा मात्र एक पर्षको समयावधिमा नौ वटा योजनाका नौ वटा ट्रान्सफरमर चोरी भएको इन्जीनियर पटेलले बताउनुभयो । बितेको एक बर्षमा पटेर्वासुगौली गाउँपालिका– ५ निचुटा, जगरनाथपुर गाउँपालिका– ३, धोबिनी गाउँपालिका– १ घोरदौरा पिपरा, प्रसौनी भाट्टा, भौराटारबाट १-१ वटा ५० केभिएको ट्रान्सफरमर चोरी भएको इन्जिनियर पटेलले बताउनुभयो ।त्यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर– ३१ मा पर्ने सोलकपुर, कोनिया, लक्ष्मीपुर र महानगरपालिका वडा नम्बर २५ बगहीबाट भूमिगत सिँचाई योजनाका ५० केभिएका १÷१ ट्रान्सफरमर चोरी भएका इन्जियर पटेलले जानकारी दिनुभयो ।



















