नरेश गुप्ता
बरियारपुर,स्थानीय तहको निर्वाचनमा आचारसंहिता उल्लंघन हुन थालेपछि त्यसको पालना गर्न गराउन कलैयामा बुधबार सर्वपक्षीय भेला आयोजना गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय बाराले जिल्ला समन्वय समिति बाराको सभा हलमा आयोजना गरेको सो भेलामा जिल्लास्थित राजनीतितक दलका प्रतिनिधि, पत्रकार, पालिकाका प्रमुख प्रशसाकीय अधिकृतलगायतको सहभागिता रहेको थियो ।
छलफल कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत खिलनाथ रेग्मीले बारामा सबै दलका उम्मेदवारहरुबाट आचारसंहिताको उल्लंघन भएको जानकारी दिनुभएको थियो । आचारसंहिता बिपरित स्थानीय चुनावमा झण्डा, पोस्टर, पम्प्लेट, डिजे साउन्ड, चिन्ह अंकित भेष्ट लगायतको सामग्री प्रयोग बढेकोले त्यसको नियन्त्रण गर्नुपर्नेमा सरोकारवालाले माग गरेका थिए ।
आचारसंहिताको पालना गर्न गराउन निर्वाचन आयोग र जिल्ला प्रशासनको प्रमुख जिम्मेवारी रहेको कुरामा पनि सरोकारवालाहरुले जोड दिएका थिए । स्थानीय तहको चुनाव बैशाख ३० गते हुने भएकोले आचारसंहिताको पालना, भारतीय गडीको प्रयोग, भोजभतेर र विभिन्न किसिमका प्रलोभनकारी सामग्री वितरण गर्ने कार्य तुरुन्त बन्द गर्न प्रजिअ कृष्णबहादुर कटुवालले आग्रह गर्नुभयो ।
बैशाख २७ गते १२ बजेपछि मौन अवधि शुरु हुने भएकोले कुनै पनि दलका उम्मेदवाहरुले प्रचारप्रसार गर्न नपाउने, बैशाख ३० गते उम्मेदवारहरुले समेत सवारीसाधन प्रयोग गर्न नमिल्ने तर अति अशक्त अपाङ्ग, ज्येष्ठ नागरिक, सुत्केरी महिलालाई मतदान स्थलसम्म ओसारपसार गर्न प्रमुख निर्वाचन अधिकृतको अनुमतिमा मात्र सवारीमा साधन प्रयोग गर्ने व्यवस्था गरिएको प्रजिअ कटुवालले जानकारी दिनुभयो ।
त्यसैगरी पत्रकारको हकमन बैशाख ३० गते आफुले काम गर्दै आएको मिडिया हाउसको परिचयपत्र बोकेर मतदान स्थलमा रिपोर्टिङ्ग गर्ने व्यवस्था मिलाईएको उहाँले जानकारी दिनुभयो । समाचार संकलनको लागि मतदान स्थलमा सूचना अधिकारीमार्फत सूचना प्राप्त गर्ने व्यवस्था मिलाइने पनि उहाँले बताउनुभयो ।
सीमा सुरक्षाको सम्बन्धमा चुनाव अघि ७२ घन्टा सीमा सिल गर्ने प्रजिअ कटुवालले जानकारी दिनुभयो । स्थानीय चुनावलाई निष्पक्ष, भयरहित, मर्यादित बनाउन जिल्लामा तीनै तहको सुरुक्षाकर्मी परिचालन गरिने सो अवसरमा जानकारी दिइएकोछ ।