कृष्ण मोहन साह
सेढवा,पर्साको ग्रामीण क्षेत्रहरूमा फेरि व्यापक मात्रामा लागुऔषध गाँजा तथा चरेशको कारोबार फस्टाएको स्थानीयहरुले बताएका छन् ।
पर्सामा लागुऔषध गाँजा सहितका पदार्थहरुको तस्करीको लाईन फेरि खुला गरिएको पाइएको हो । विगत केहि महीना बन्द रहेको लागुऔषधको कारोवार फेरि प्रहरीकै सक्रियतामै शुरु भएको स्रोतको दावी छ ।
तस्करीमा संलग्न व्यक्तिहरुसंग रकम लिइ ग्रामीण क्षेत्रमा रहेका प्रहरी युनिट इन्चार्जहरुले तस्करीको लाइन खुलाएको स्थानीयहरुको आरोप छ । मकवानपुरको मनहरी, लोथर, पालुङ्ग तथा धाधिङ्ग लगायतका पहाडी भेगमा उत्पादन गरिएको लागु औषध गाँजा, चरेस, पाउडर, एलिबम पर्साका विभिन्न स्थानमा ल्याएर भण्डारण तथा बिक्री विरतण गर्ने गरिएको ग्रामीण क्षेत्रलाई लागूऔषध गाँजा र चरेशको ट्रान्जिट प्वाइन्ट बनाइएको छ ।
पहाडी भेगमा उत्पादन गरिएको लागु औषध गाँजा पर्सा राष्ट्रिय निकुञ्ज, तथा वन क्षेत्रको बाटो हुदै पर्सा जिल्लाको ग्रामीण वस्तीहरुमा पुर्याइने गरिएको छ । तस्करहरुले थोरैथोरै गरेर जम्मा गरेको लागुऔषध तस्करहरुकै निगरानीमा भण्डारण हुने र परिमाण पुगेपछि एकैपटक भारत पुर्याइने गरिएको स्रोतको दावी छ ।
प्रहरीहरुलाई भण्डार गर्ने स्थानको विषयमा जानकारी रहने गरेको भए पनि प्रहरीले रकम लिएर मौन बस्ने गरेको पनि आरोप लाग्ने गरेको छ । पर्साको ग्रामीण क्षेत्रमा पर्ने बडेरवा, भटनी, मनवा, सखुवनिया, सथौवल, पर्टेवा सुगौली, सोनवर्षा, देकुली, महादेवपट्टी, ओडार, निर्मलवस्ती लगायतको ठाउँहरुमा गाँजा र चरेशको भण्डारण हुने गरेको छ । यस क्षेत्रमा भण्डारण गरिएको लागुऔषध प्रहरी चौकीका इन्चार्जहरुकै सेटिङ्गमा तस्करहरुले रातारात सिमावर्ती गाउँ पिडारी, जानकी टोला, सम्भौता, भिस्वा बिजयबस्ती हुँदै भारत पुर्याउने गरेको श्रोतको दाबी छ ।
तर पर्साका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले भने आफूले गाँजा तथा चरेश नियन्त्रणका लागि कडा निर्देशन दिएको र यस्ता कार्यमा प्रहरीको संलग्नता पाइए कडा कारबाही हुने बताउनुभयो ।