कलैया,सिद्धार्थ बैंक लिमिटेड कलैया शाखाले जिल्ला प्रहरी कार्यालयलाई दुई वटा सिसिटिभी क्यामरा हस्तानान्तरण गरेको छ ।कलैया नगरभित्र बाहिरबाट आउने तथा जाने व्यक्तिहरुको अभिलेख राख्न सहज होस भनेर बैंकले आइतवार अत्याधुनिक सिसिटिभी क्यामेरा हस्तानान्तरण गरेको हो ।सिद्धार्थ बैंक लिमिटेड शाखा कार्यालय कलैयाका प्रबन्धक मनमोहनलाल साहले जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्कालाई उहाँकै कार्यकक्षमा सो सिसिटिभी क्यामरा हस्तानान्तरण गरेको बैंकका प्रशासकीय अधिकृत रुवी देवले बताउनुभयो ।
कलैयाको सुरक्षा स्थिति मजबुत तुल्याउन र सबै प्रकारका गलत गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामेराले सहयोग पुग्ने अपेक्षासहित प्रहरीलाई सहयोग गरिएको प्रबन्धक साहले भन्नुभयो । उहाँले अपराधिक क्रियाकलाप गरेर भाग्नेहरुको दृश्य कैद गर्न र उनीहरुको यकिन गरेर नियन्त्रणमा लिन क्यामराले मद्दत पुग्ने उहाँको भनाई छ।
बारा जिल्लामा ४ समेत गरी मुलुकभरि १९६ शाखाबाट सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न निकायलाई सहयोग गरिदै आइएको तथा आगामी दिनमासमेत सहयोग गरिने अधिकृत रुवी देवले बताउनुभयो ।यसैगरी कलैयामा रहेका करिब एक दर्जन बैंकका विभिन्न शाखाहरुको प्रबन्धकले सुरक्षाको चुनौतिमा काम गर्न आफुहरुलाई सिसिटिभी क्यामेरा दिने बाचा गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो ।
अन्य बैंकका शाखा प्रमुखहरुले पनि आउने दिनमा सिसिटिभी क्यामेरा दिएर कलैयाका नागरिकहरुको जिउ, धनको सुरक्षाका प्रहरीलाई सहयोग गर्ने आफूहरुले विश्वास लिएको उहाँले बताउनुभयो ।हालका दिनमा कलैयाका विभिन्न स्थानमा ३० वटा सिसिटिभी क्यामेरा जडान भए पनि पानी र हावाको कारण १० वटा क्यामेरा बिग्रिएर काम नगर्ने अवस्थामा पुगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दघिराम न्यौपानेले जानकारी दिनुभयो ।अत्याधुनिक सिसिटिभी क्यामेरा हस्तानान्तरण कार्यक्रममा सिद्धार्थ बैंकका शाखा प्रमुख मनमोहनलाल साह, बैंकका कर्मचारी सिद्धार्थ पोद्दार, प्रहरी उपरीक्षक महेन्द्र खड्का, प्रहरी नायब उपरीक्षक दघिराम न्यौपाने, प्रहरी निरीक्षक राजेश खत्रीलगायतका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।


















