सिमरा,न्यु एकता ईङ्लिस स्कुल सिमरालाई पराजित गर्दै राष्ट्रिय विभुति शिक्षा सदन स्कुल डुमरवाना अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
यससँगै ग्रासरुट फाउण्डेसनले आयोजना गरेको प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । मंगलबार सिमरा रंगशालामा भएको अन्तिम क्वाटरफाइनलमा राष्ट्रिय विभुतिले न्यु एकतालाई ३–० ले हरायो । विभुतिलाई जिताउन नविन चौधरीले दुई गोल गरे । अर्को एक गोल श्याम चौधरीको नाममा रह्यो ।
खेलको ३१ औँ मिनेटमा श्याम चौधरीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ४५ मिनेटमा नविनले गोल गर्दै अग्रता दोब्बर पारे । अन्तिम समयसम्म गोलका लागि संघर्ष गरेको एकताले अवसर बनाउन नसक्दा ७० मिनेटमा थप एक गोल खान पुग्यो । नविन चौधरीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० को शानदार जित दिलाए ।
नविन नै मंगलबारको खेलको म्यान अफ द म्याच बने ।
प्रतियोगिताअन्तर्गत बुधबारदेखि सेमिफाइनलका खेलहरु सुरु हुनेछन् । पहिलो सेमिफाइनलमा बुधबार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलिया र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अमलेखगञ्ज खेल्ने प्रतियोगिता संयोजक सोनु क्षेत्रीले जानकारी दिनुभयो ।
















